गोरखामा एसइई तयारी पूरा
गोरखा । राष्ट्रिय परीक्षा बोर्डले भोलिदेखि लिने एसइई परीक्षाको तयारी गोरखा जिल्लामा पुरा भएको छ । परीक्षा चैत १९ गते बिहीबारदेखि २९ गते आइतबारसम्म चल्ने छ ।
परीक्षामा जिल्लाभर कुल ३ हजार ७९६ जना विद्यार्थीहरू सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई, गोरखाका इकाई प्रमुख विश्व प्रकाश रेग्मीले जानकारी दिनुभयो ।
रेग्मीका अनुसार सबै परीक्षा केन्द्रमा प्रश्न पत्र र उत्तर पुस्तिका पुगिसकेको र आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्लाभर २३ परीक्षा केन्द्र रहेको रेग्मीको भनाइ छ ।
इकाईले दिएको जानकारीअनुसार गोरखा नगरपालिकामा ६, भिमसेन थापा गाउँपालिकामा ३ तथा गण्डकी, शहिदलखन, सिरानचोक, बारपाक सुलिकोट, आरुघाट गाउँपालिका र पालुङटार नगरपालिकामा २–२ वटा परीक्षा केन्द्र र अजिरकोट र धार्चे गाउँपालिकामा १–१ वटा परीक्षा केन्द्र रहेको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा भने परीक्षार्थीको संख्या कम भएकोले केन्द्र छैन । यसैबीच जिल्लाको ४ वटा विद्यालयमा अध्ययन हुने प्राविधिक धारका बिधार्थीहरुको परीक्षा केन्द्र गोरखा सदरमुकामको शक्ति माविमा राखिएको इकाईले जानकारी दिएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।
एसइईलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्नका लागि बोर्डले सबैलाई आग्रह पनि गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्