खजुरा क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा बन्द: क्यान्सर बिरामी भारत धाउन बाध्य

बाँके । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि रेडियोथेरापी सेवा बन्द हुँदा पश्चिम नेपालका क्यान्सर बिरामी उपचारका लागि भारतका अस्पताल धाउन बाध्य भएका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीलाई सेवा दिँदै आएको यस अस्पतालको लिनियर एक्सेलेरेटर (लिन्याक) मेसिन बिग्रिएपछि सेवा पूर्ण रूपमा अवरुद्ध भएको हो ।
अस्पतालमा दैनिक २५ भन्दा बढी बिरामीले रेडियोथेरापी सेवा लिँदै आएका थिए। सेवा बन्द भएपछि उनीहरू भारतका बहराइच, लखनउ, दिल्लीलगायतका अस्पतालमा महँगो खर्च व्यहोर्दै उपचार गराउन बाध्य बनेका छन्। यसले बिरामी र उनका परिवारलाई आर्थिक तथा मानसिक रूपमा थप समस्यामा पारेको छ ।
अस्पताल प्रशासनका अनुसार मेसिन मर्मत गर्ने प्राविधिक अस्पतालमा उपलब्ध छैनन्। मेसिन आपूर्ति गर्ने कम्पनीले बाँकी भुक्तानी नपाएको कारण देखाउँदै प्राविधिक नपठाएपछि सेवा पुनः सञ्चालन हुन सकेको छैन ।
अस्पतालका कार्यकारी निर्देशक डा। निरज भट्टराईले समस्या समाधानका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए । मन्त्रालयमा आवश्यक निर्णयका लागि पत्राचार गरिसकिएको उल्लेख गर्दै उनले मन्त्रालयबाट निर्णय हुनेबित्तिकै मेसिन सञ्चालनमा ल्याइने विश्वास व्यक्त गरे।
सूचना अधिकारी डा. प्रवीण गुप्ताका अनुसार मेसिन मर्मतका लागि आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराइदिन मन्त्रालयसँग अनुरोध गरिएको छ। रेडियोलोजी विभागका प्राविधिकको व्यवस्थापन गरी सकेसम्म चाँडो सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए।
अस्पतालका अनुसार सेवा अवरुद्ध हुनुको मूल कारण मेसिन खरिद प्रक्रियासँग जोडिएको विवाद हो । खरिद सम्झौतामा उल्लेख गरिएको एचएस कोड र कन्ट्री अफ ओरिजिनभन्दा फरक विवरण भएको मेसिन आपूर्ति भएपछि बाँकी भुक्तानी रोकिएको छ। सोही कारण कम्पनीले मर्मत तथा प्राविधिक सहयोग रोकेको अस्पताल प्रशासनको भनाइ छ ।
२०७९ पुसमा अस्पतालमा ल्याइएको उक्त लिन्याक मेसिन खरिदसम्बन्धी विवादका कारण जडान भएको तीन महिनापछि मात्र सञ्चालनमा आएको थियो। त्यसयता पनि खरिद प्रक्रियासम्बन्धी विषय पूर्ण रूपमा टुङ्गो नलाग्दा समस्या दोहोरिएको हो ।
तत्कालीन कार्यकारी निर्देशक डा. निरज भट्टराईको आग्रहमा मन्त्रालयले गठन गरेको छानबिन समितिले खरिद सम्झौता र भन्सार कागजातमा एचएस कोड तथा कन्ट्री अफ ओरिजिन फरक रहेको पुष्टि गरेको थियो। समितिले मेसिनको गुणस्तर सञ्चालनपछि मात्रै मूल्याङ्कन गर्नुपर्ने सुझावसहित प्रतिवेदन बुझाएपछि सेवा सञ्चालनमा आएको भए पनि बाँकी भुक्तानी र प्रशासनिक निर्णय नहुँदा पुनः सेवा प्रभावित भएको अस्पतालले जनाएको छ ।
करिब २७ करोड रुपैयाँभन्दा बढी लागतमा खरिद सम्झौता भएको उक्त लिन्याक मेसिनको ६० प्रतिशत रकम भुक्तानी भइसकेको छ भने आठ लाख छ हजार अमेरिकी डलर बराबरको रकम अझै भुक्तानी हुन बाँकी रहेको अस्पतालले जनाएको छ ।
रेडियोथेरापी सेवा लामो समयसम्म अवरुद्ध हुँदा पश्चिम नेपालका क्यान्सर बिरामीले सहज उपचार सेवाबाट वञ्चित हुनुपरेको छ । सेवा पुनः सञ्चालनका लागि आवश्यक निर्णय छिटो गर्न सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ ।
यसैगरी भरतपुरदेखि पश्चिम नेपालतर्फको एकमात्र क्यान्सर उपचार केन्द्र बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लामो समयदेखि जडान भएर पनि सञ्चालनमा आउन नसकेको २० किलोलिटर क्षमताको लिक्विड अक्सिजन प्लान्ट शनिबारदेखि सञ्चालनमा आएको छ। कार्यकारी निर्देशक डा। निरज भट्टराईका अनुसार हाल १८ किलोलिटर लिक्विड अक्सिजन भरेर प्लान्ट सञ्चालनमा ल्याइएकाले अब अस्पतालले अक्सिजन भण्डारण गर्न सक्ने, दैनिक सिलिण्डरमार्फत अक्सिजन ढुवानी गर्नुपर्ने झन्झट हट्ने र बाहिरबाट आपूर्तिको प्रतीक्षा गर्नुपर्ने अवस्था अन्त्य हुने भएको छ।
स्वास्थ्य मन्त्रालयको समन्वय र युएसएडको आर्थिक सहयोगमा जडान गरिएको उक्त प्लान्टसँगै अस्पतालले केमो वार्डमै छुट्टै फार्मेसी सेवा तथा एउटै भवनबाट रेडियोलोजी र प्रयोगशाला (डायग्नोस्टिक) सेवा सञ्चालनमा ल्याएको छ भने लायन्स क्लबको समन्वयमा बिरामी कुरुवा घर पनि छिट्टै सञ्चालन गर्ने तयारी गरिएको छ। २०७२ सालमा संघीय सरकारलाई हस्तान्तरण गरिएको यस अस्पतालमा हालसम्म स्थायी दरबन्दी स्वीकृत नभएकाले अस्थायी, करार र ज्यालादारी स्वास्थ्यकर्मीबाट सेवा सञ्चालन भइरहेको भए पनि यसले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सयौँ क्यान्सर बिरामीलाई उपचार सेवा प्रदान गर्दै पश्चिम नेपालका बिरामीका लागि भरपर्दो उपचार केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।







प्रतिक्रिया राख्नुहोस्