तपाईँ सुन्दै हुनुहुन्छः

सूर्य बहादुरको सपना: पहाडका हरियाली बगानदेखि विश्व बजारसम्म

इलाम।सूर्य किरण पहाडका हरियाली बगानमा झर्दा जस्बीरेका चिया बगानमा व्यस्त श्रमिकहरूको दृश्य निकै मनमोहक देखिन्छ। हरेक पातमा टल्किने हरियो चमक र प्रकृतिको ताजगीबीच एउटा सपना लुकेको छ—सूर्य बहादुर सुब्बाको सपना, जसले आज तीन पुस्तासम्म फैलिएको चिया उद्योगको आधार तयार पारेको छ।

७८ वर्षीय सूर्य बहादुरले आफ्नो जीवनको अधिकांश समय चिया खेतीको विकासमा समर्पित गर्नुभएको छ। करिब चार दशकअघि, गाउँमा चिया खेतीप्रति खासै रुचि नहुँदा उहाँले प्रत्येक घरमा ५० वटा चिया बिरुवा रोप्ने अभियान सुरु गर्नुभयो। गाउँलेहरू आज पनि सम्झन्छन्, “उहाँले आफैं रोपे, हामी पछि लाग्यौं।” त्यतिबेला गाउँमा चिया बाहिरबाट ल्याउनुपर्ने अवस्था थियो।

२०३५/३६ सालतिर देशभर “गाउँ फर्काऊ अभियान” चलिरहेका बेला पनि चिया खेती विस्तार हुन सकेको थिएन। त्यसपछि चिया विकास निगम स्थापना भएसँगै सम्भावना विस्तार हुन थाल्यो। सूर्य बहादुरका साथी तार अधिकारीको प्रोत्साहनमा गाउँमा नर्सरी स्थापना गरियो। ब्रिटिश प्राविधिकहरूको आगमनले आधुनिक चिया उत्पादन प्रविधि भित्र्याउन थप सहयोग पुग्यो।

२०४२ सालमा स्विजरल्याण्डको सहयोगमा आलु विकास उत्पादन संस्था स्थापना भयो र सूर्य बहादुर त्यसका अध्यक्ष बन्नुभयो। यही क्रममा स्विजरल्याण्डबाट आएका विज्ञ भैरव अर्यालसँग उहाँको भेट भयो। “उहाँसँगको छलफलले हाम्रो सोचाइ फराकिलो बनायो,” सूर्य बहादुर सम्झनुहुन्छ, “हामीले उत्पादनसँगै गुणस्तरमा ध्यान दिन थाल्यौं।”

२०४२ सालमै आयोजित चिया गोष्ठीले नयाँ ऊर्जा थप्यो। त्यसको प्रभावस्वरूप २०४३ सालदेखि जस्बीरेमा औपचारिक रूपमा चिया रोपाइँ सुरु भयो। २०४४ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको गाउँ भ्रमणले चिया खेतीप्रतिको विश्वास र उत्साह झनै बढायो।

२०७२ सालमा सूर्य बहादुरले आफ्नै लगानीमा जस्बीरे चिया उद्योग स्थापना गर्नुभयो। सुरुमा करिब १३ लाख रुपैयाँ लगानीमा उद्योग सञ्चालन गरिएको थियो। पछि बैंकबाट ऋण उपलब्ध भएपछि आधुनिक मेसिनरी जडान गरी उत्पादन विस्तार गरियो।

उद्योगमा उत्पादन हुने ह्वाइट टी र गोल्डेन टी मुख्य रूपमा चीन निर्यात हुँदै आएको छ। तर कोरोना महामारीका कारण नाका बन्द हुँदा निर्यातमा ठूलो असर परेको थियो। यसैबीच २०८१ साल फागुन १३ गते उद्योगमा आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भयो। तयारी चिया र मेसिनरी पूर्ण रूपमा नष्ट भए।

तर पनि उद्योगका सञ्चालक सरद सुब्बाले हिम्मत हार्नुभएन। स्थानीय समुदाय, श्रमिक र साथीभाइको सहयोगमा उद्योग पुनर्निर्माण सुरु गरियो, जसको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ।

जस्बीरे चिया उद्योगको सफलता तीन पुस्ताको निरन्तर प्रयास र अनुसन्धानको परिणाम हो। सूर्य बहादुरले सुरु गरेको अभियानलाई उहाँका माइला छोरा सरद सुब्बाले अघि बढाइरहनुभएको छ। सरदले हरेक वर्ष नयाँ प्रकारको चिया उत्पादन गर्दै उद्योगलाई नवीनता र गुणस्तरमा अग्रणी बनाइरहनुभएको छ।

तेस्रो पुस्ताका सदस्य निर्बिकल्प र साईला पनि अहिले उद्योगमै सक्रिय छन् र अनुभव सँगालिरहेका छन्।

हाल उद्योगले २३–२४ प्रकारका चिया उत्पादन गर्दै आएको छ, जुन अमेरिका, जापान, फ्रान्स, जर्मनीलगायत देशमा निर्यात भइरहेको छ। उद्योगले ३०–३५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने बगानमा ६०–६५ जना कार्यरत छन्। करिब २३५ किसान यसमा आबद्ध छन् र एक किसानले वार्षिक ८–९ लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका छन्।

अहिले जस्बीरे चिया उद्योगले अन्तर्राष्ट्रिय स्तरमा पनि पहिचान बनाउँदै गएको छ। हरेक वर्ष विदेशी अनुसन्धानकर्ता र प्राविधिकहरू यहाँ अध्ययन तथा अनुसन्धानका लागि आउने गरेका छन्, जसले ज्ञान र प्रविधिको आदान–प्रदानलाई समेत टेवा पुर्‍याएको छ।

जस्बीरेको यो यात्रा केवल चिया उत्पादनको कथा होइन, यो संघर्ष, धैर्य, अनुसन्धान र समर्पणको कथा हो। सूर्य बहादुर सुब्बाको सपना र तीन पुस्ताको मेहनतले यसलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याएको छ। आगलागी, महामारी र आर्थिक चुनौती पार गर्दै जस्बीरे आज मेहनत र दृढ संकल्पको जीवन्त उदाहरण बनेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button