पिएम कपमा मधेशको तेस्रो जीत सहित ७ अंक सहित दुई शीर्ष टिममा

जनकपुरधाम । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज जनकपुरधाममा भएको खेलमा मधेस प्रदेशले ५ विकेट विजयी भएको छ ।
निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला रजौल जनकपुरधाममा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले १३० रनको लक्ष्य दिएकोमा मधेस प्रदेशले २४.५ ओभरमा ५ विकेट गुमाउँदै विजयी भएको हो ।
मधेस प्रदेशका लागि ओपनर निरज यादवले ५९ बलमा ३८ रन बनाएका थिए । अर्का ओपनर मयन यादवले २२ बलमा २४ रन जोड्दा, अरनिको यादवले २५ बलमा अविजित ३२ रन तथा पवन श्राराफले २६ बलमा १७ रन बनाएका थिए ।
बलिङमा कर्णालीको तर्फबाट दिपेन्द्र रावतले ८ ओभरमा ४० रन दिएर ३ विकेट लिएका थिए भने दिवान पुन र प्रकाश जैशीले समान १/१ विकेट लिएका थिए । यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले ३१.२ ओभरमा सबै विकेट गुमाउँदै १२९ रन बनाउनमा समेटिएका थिए । कर्णालीका ओपनर ब्याट्सम्यान रविन्द्र शाहीले ५१ बलमा ४० रन बनाएका थिए ।
अर्जुन घर्तीले ३४ बलमा २४, दिनेश अधिकारीले १८ बलमा १८, विपिन रावलले २९ बलमा १८, कप्तान दिवान पुनले ११ बलमा १२ रन बनाएका थिए । कर्णालीका अन्य व्याट्स म्यानले मधेशको कसिलो वलिङ्गका कारणले दोहोरो अङ्कको रन जोडन सकेनन् ।
बलिङतर्फ आशिक बैठाले १० ओभरमा ३४ रन दिएर ४ विकेट लिँदा विशाल पटेलले २, अरनिको यादवले २ र प्रदीप पासवानले १ विकेट लिएका थिए । मधेस प्रदेशको चारवटा खेलमा ७ अंक सहित शीर्ष दुई टिममा परेको छ । पहिलो खेल वर्षाको कारण रद्द भएको थियो भने बाँकी तीन खेलमा मधेशले जीत निकालेको छ ।
आजको खेलमा मधेश प्रदेशका खेलाडी आशिक वैठाले १० ओभर गर्दै थोरै रन दिएर ४ विकेट लिएबापत म्यान अफ दि म्याच घोषित भएका छन् । म्यान अफ दि म्याच घोषित भएका वैठालाई जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, मिडिया काउन्सिलका सदस्य गायत्री मिश्र र क्यान धनुषाका कोषाध्यक्ष सच्चिन सिंहले म्यान अफ दि म्याचको नगद सहितको पुरस्कार प्रदान गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्