तपाईँ सुन्दै हुनुहुन्छः

डेढ वर्षपछि ठोरी नाका खुल्ने सम्भावना, पर्यटन क्षेत्रमा राहतको आश

वीरगञ्ज। बिगत डेढ बर्ष देखि अचानक बन्द भएको वीरगंज पछि पर्साको सबैभन्दाबढि भारतीय पर्यटक भित्रिने ठोरी नाका नयाँ सरकार गठन भएसँगै सञ्चालनमा आउने आश ठोरीवासीले गरेका छन् । 

ठोरीको ऐतिहासिक,सामाजिक र आर्थिक महत्वलाई नजिकबाट बुझ्नु भएका डा. स्वर्णिम वाग्ले अर्थमन्त्री भएसँगै नाका सञ्चालनमा आउने आश ठोरीवासीमा जागेको स्थानीय युवा  समाजसेवी सन्तोष श्रेष्ठले बताउनुभयो । 

ठोरी नाका झण्डै डेढ बर्ष देखि बन्द हुँदा मुलुकले करोडौँको राजश्व गुमाउनु परेको छ भने ठोरी माडी क्षेत्रको पर्यटन व्यवसाय समेत प्रभावित भएको छ । 

दैनिक करिब ५ सयभन्दा बढी भारतीय पर्यटकहरू आउने पर्साको ठोरी नाका २०८१ साल  पुष १५ गते देखि अचानक बन्द हुन पुगेको थियो । 

भारतको पश्चिम चम्पारणसहितका क्षेत्रबाट ठोरी, माडी हुँदै चितवन, पोखरा, काठमाडौँ, लुम्बिनी जानका लागि भारतीय पर्यटकहरू आउने नाका बन्द हुँदा देशकै तेस्रो पर्यटकीय केन्द्र चितवन सबैभन्दा बढी प्रभावित बनेको छ ।

भन्सार नाका किन बन्द गरियो र कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने कुराको पत्तो यहाँका स्थानीयहरूले अझै पत्ता नपाएको र अव भने जननिर्वाचित युवाहरूको सरकार बनेसँगै नाका सञ्चालनमा आउनेमा आफूहरू ढुक्क रहेको श्रेष्ठले बताउनुभयो ।

भारतको पश्चिम चम्पारणमा करिब एक करोड बढी जनसङ्ख्या छ । भारतीयहरू परिवार तथा साथीभाइसहित घुम्नका लागि आफ्नै सवारी साधनमा ठोरी, माडीका विभिन्न होटल होमस्टे, भरतपुरका पटिहानी, मेघौली, सौराहा जस्ता पर्यटकीय ठाउँहरूमा आउने गरेका थिए । तर, यो नाका बन्द भएपछि वीरगञ्ज वा भैरहवा हुँदै आउनुपर्ने बाध्यता उनीहरुलाई परेको छ । 

दैनिक ५०-६० जति जिप,कार,भ्यान लगायतका हल्का सवारी साधन तथा एक सय जति मोटरसाईकलमा भारतीयहरू नेपाल घुम्न ठोरी नाका हुँदै भित्रिने गरेका थिए । अहिले नाकाबन्द हुँदा धेरै पर्यटकहरू निराश बनेर फर्किने गरेका छन् । जसको असर प्रत्यक्ष रुपमा माडीसहितको क्षेत्रमा परेको छ ।

ठोरीबाट ३५ किलोमिटरमा माडी आइपुगिन्छ । अहिले चितवन आउने भारतीय पर्यटक कि त वीरगञ्जबाट ५ घण्टा लगाएर वा भैरहवाबाट १० घण्टा लगाएर आउनुपर्ने बाध्यता रहेको छ । 

सरकारले यहाँ भन्सार चलाउन भनेर भवन पनि बनाएको छ । वीरगञ्ज भन्सार कार्यालय मातहत राखेर सञ्चालन गरिएको नाका बन्द भएपछि भारतीय पर्यटकहरूको आवागमन रोकिएको छ । कहिले कर्मचारी नभएको त कहिले भन्सार नाका मर्ज गर्ने नीति भएको भन्दै यो नाका चलाउन सरकार उदासिन देखिएको छ ।

भारतीय सवारी प्रवेशको भन्सार प्रज्ञापत्र काट्ने काम रोकिएसँगै त्यसको मार यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायीमाथि परेको छ । ठोरी जङ्गल रिसोर्टका सञ्चालक सुदिप थापाले देशभित्र बाह्य पर्यटक बढाउन तथा पर्यटन क्षेत्रलाई चलायमान बनाउन नाका सञ्चालन अनिवार्य भएको बताउनुभयो । 

देशभित्र आर्थिक गतिविधि बढाउन पर्यटकहरूको ठूलो भूमिका हुने बताउँदै सञ्चालक थापाले नाका बन्द हुँदा त्यसको सिधा असर होटल, होमस्टे तथा पर्यटन व्यवसायमा परेको गुनासो गर्नुभयो ।

भारतीय पर्यटकलाई ठोरीसम्म आउन कुनै समस्या नभएपनि ठोरी कटेर माडी र भरतपुर आउन भने अनिवार्य रुपमा सवारी प्रवेशको भन्सार प्रज्ञापत्र चाहिने हुँदा अधिकांश भारतीय पर्यटक ठोरीबाटै फर्कने गरेका छन् । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख कृष्ण प्रसाद मैनालीले गत वर्ष अर्थात् २०२४ को जनवरी १ देखि डिसेम्बरसम्म मात्रै भन्सार कार्यालय सञ्चालनको अनुमति पाएको तर त्यसपछि नवीकरण नहुँदा सञ्चालनमा आउन नसकेको बताउनुभयो । 

यता ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले नाका बन्द हुँदा ठोरी झनै पछाडि परेको बताउँदै एकाएक नाका बन्द हुनुले देशकै पर्यटन व्यवसायलाई प्रभावित पारेको बताउनुभयो । 

ठोरी नाका सञ्चालनमा आए भारतीय पर्यटकहरूको संख्या निकै बढ्ने र त्यसको फाइदा नेपाललाई नै हुने दाबी समेत अध्यक्ष श्रेष्ठले गर्नुभयो ।

उहाँले नयाँ सरकार तथा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग ठोरी नाका तत्काल सञ्चालनमा ल्याउन माग समेत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button