हुम्लाबाट १३ सय जना विद्यार्थीहरू एसइई परीक्षा दिँदै
हुम्ला । आगामी चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा हुम्ला जिल्लाबाट १३ सय जना विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।
निमित्त शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका प्रमुख खड्गबहादुर हमालका अनुसार जिल्ला भर रहेका ३२ वटा माध्यमिक विद्यालयका ७ वटा परीक्षा केन्द्र गरी एक हजार १३ सय जना विद्यार्थीहरू सहभागिता जनाउने बताउनु भयो ।
जिल्लाभरका ३२ वटा माध्यमिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीको आधारमा ७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ सात वटा स्थानीय तह भएको हुम्लामा नाम्खा र चंखेली गाउँपालिका बाहेक अन्य पाँच गाउँपालिकामा परीक्षा केन्द्रहरू रहेका छन् । सिमकोट र सर्केगाड गाउँपालिकामा २।२ वटा परीक्षा केन्द्रहरू छन् भने अन्यमा १।१ रहेका छन् ।
परीक्षा केन्द्रहरूमा सिमकोट गाउँपालिकाको बालमन्दिर माविमा नियमित तर्फ १ सय ३३ र ग्रेड वृद्धि तर्फ ३२ जना गरी १ सय ६५ जना रहेका छन् । त्यस्तै सोही गाउँपालिकाकै मानसरोवर माध्यमिक विद्यालयमा नियमित तर्फका १ सय ४३ र ग्रेड वृद्धि तर्फका ९९ गरी २ सय ४२ जनाले सहभागिता जनाउने भएका छन् । हिमज्योति माध्यमिक विद्यालय सर्केगाड केन्द्रमा १ सय ९१ जना नियमित र २२ जना ग्रेड वृद्धिका गरी २ सय १३ जना परीक्षार्थी रहेका छन्, कोट मावि रोडिकोटमा १ सय ६ जना नियमित तर्फका विद्यार्थीहरू छन् भने ग्रेडबृद्धिका विद्यार्थी नभएको बताउनु भएको छ ।
जिल्लाको तल्लो क्षेत्रमा रहेको सूर्योदय माध्यमिक विद्यालयमा १ सय ४० जना नियमित तर्फका विद्यार्थीहरू रहेका छन् भने ३६ जना ग्रेड वृद्धिका गरी १ सय ७६ जना रहेका छन्, मदनदेब माविमा २ सय ५ नियमित र ८७ जना ग्रेड वृद्धिका गरी २ सय ९२ जना र सिता मावि खार्पुनाथमा ७९ नियमित तथा २७ जना ग्रेड वृद्धि गरी १ सय ६ जना गरी १३ सय जना परीक्षामा सहभागी हुने बताउनु भयो ।
परीक्षालाई मर्यादित बनाउनको लागि जिल्लाका ७ वटै गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुखहरूसँग समन्वय भइरहेको बताउँदै प्रश्नपत्र सम्बन्धित स्थानीय तहका प्रहरी चौकीमा र उत्तर पुस्तिका सम्बन्धित परीक्षा केन्द्रमा पुगिसकेको निमित्त इकाई प्रमुख हमालले बताउनु भयो ।
गत वर्ष चैत्र ७ गतेबाट भएको परीक्षामा १ हजार १ सय ४ जना सहभागी भएका थिए ।







प्रतिक्रिया राख्नुहोस्