तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट: गण्डकी र त्रिभुवन आर्मी क्लब विजयी

काठमाडौँ । गण्डकी प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो पटक विभागीय टोलीमाथि गण्डकीको ऐतिहासिक जित हासिल गरेको छ ।

तल्लो मुलपानी मैदानमा भएको खेलमा गण्डकीले एपिएफलाई ४३ रनले पराजित गरेको हो । वर्षाका कारण ढिला सुरु भएको खेलमा प्रत्येक टोलीले समान २१ ओभर पाएका थिए ।

गण्डकीले दिएको १५१ रनको लक्ष्य पछ्याएको एपिएफ १८ दशमलब ३ ओभरमा १०७ रनमा अल आउट भयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश २१ ओभरमा ७ विकेट गुमाएर १५० रन बनाउन सफल भएको थियो । 

पहिलो जित हात पारेको गण्डकीको चौथो खेलबाट ३ अंक भएको छ । पराजित एपिएफको समान खेलबाट ३ अंक नै रहेको छ ।

अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशमाथि रोमाञ्चक जित दर्ता गरेको छ ।

बागमतीलाई हराएको आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको हो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले बागमतीलाई ३ विकेटले पराजित गरेको हो । वर्षा कारण खेल २८ ओभरमा छोट्याइएको थियो ।

बागमतीले दिएको २०९ रनको लक्ष्य आर्मीले इनिङको अन्तिम बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि आर्मीले टस जितेर बलिङ रोजे पछि पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २८ ओभरमा २०८ रनको योगफल तयार गरेको थियो । जितपछि ४ खेलमा ७ अङ्कका साथ आर्मी शीर्ष स्थानमा उक्लिएको छ । पराजित बागमती समान खेलमा २ अङ्कका साथ पुछारबाट तेस्रो स्थानमा छ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button