मधेश प्रदेश सभाको बैठक : प्रधानमन्त्रीलाई बधाई र सफल कार्यकालको शुभकामना

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक आज आज देखि शुरु भएको छ । बैठकको विशेष समयमा बोल्दै अधिकांश पार्टीका प्रदेश सभा सदस्यहरुले मधेशी समुदायबाट पहिलो पटक मुलुकको प्रधानमन्त्री बनेकोमा खुशी व्यक्त गर्दै बधाई सहित सफल कार्यकालका लागि कामना पनि गर्नु भएको हो ।
मधेश प्रदेश सभाको जारी रहेको छैटौँ अधिवेशन अन्तर्गतको १४ औँ बैठकमा बोल्दै अधिकांश दलका प्रदेश सभाका सदस्यहरुले मधेशी समुदायका व्यक्ति पहिलो पटक देशको कार्यकारी प्रधानमन्त्री भएकोमा खुशी व्यक्त गर्दै वर्तमान प्रधानमन्त्रीको शासन कालमा मुलुकमा शान्ति, स्थिरता तथा समृद्धि आउनेमा विश्वास गर्नु भएको हो । उहाँहरूले नव निर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको पालामा सङ्घीयता अझै मजबुत हुनेमा विश्वास व्यक्त पनि व्यक्त गर्नु भयो ।
बैठकको विशेष समयमा बोल्नुहुँदै नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवले मधेशी समुदायबाट पहिलो पटक देशको कार्यकारी प्रधानमन्त्री बन्नु गर्भको विषय भएको बताउँदै बालेन्द्र शाह बालेको सफल कार्यकालको कामना गर्नु भयो ।
उहाँले दुई तिहाई नजिकको सरकारबाट जनताले धेरै परिवर्तनको आश गरेकाले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरेर मुलुकमा मुठभेड बढाउन खोजेको आरोप लगाउनु भयो ।
बैठकको विशेष समयमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जयनुल राईनले नेपालको इतिहासमा पहिलो पटक मधेशका छोरा मुलुकको कार्यकारी प्रधानमन्त्री भएकोमा बधाई ज्ञापन सहित नवगठित संघीय सरकारका मन्त्रीहरूको सफल कार्यकालका लागि शुभकामना दिनु भयो ।
जनमत पार्टीका चन्दन सिंहले संघीय सरकारका प्रधानमन्त्री पदमा मधेशी समुदायका व्यक्ति विराजमान हुनु सबै मधेशीका लागि गर्भको विषय भएको बताउँदै उहाँको पालामा संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुने आशा व्यक्त गर्नु भयो ।
जनता समाजवादी पार्टी नेपालका प्रदेश सभाका सदस्य संजय कुमार यादवले मधेशी छोरा देशको प्रधानमन्त्री बनेकामा खुशी व्यक्त गर्दै सफल कार्यकालको कामना गर्दै प्रतिनिधि सभामा एक दलको पक्षमा आएको प्रचण्ड जनादेश पार्टीको मात्र भई सुशासनको पक्ष तथा कुशासनको विरोधमा आएको दाबी गर्दै पुरातन शोचमा परिवर्तन ल्याउनका लागि प्रदेशका छोटा राजाहरूलाई आग्रह गर्नु भयो ।
नेपाली काँग्रेसका नेत्री जीवछी यादवले जेन्जी पुस्ताको आन्दोलनपछि भएको निर्वाचनमा मधेशी पुत्र बालेन्द्र शाह नेपालको प्रधानमन्त्री भएकोमा खुशी व्यक्त गर्दै उहाँको कार्यकालमा देशको समृद्धि र विकासले गति लिने विश्वास व्यक्त गर्नु भयो । उहाँले बालेन्द्र शाहको पालामा दाइजोका कारणले कुनै पनि मधेशी चेली हिंसाको मारमा नपरोस् भन्ने गरि काम गर्नका लागि शुभकामना दिनु भयो ।
जनता समाजवादी पार्टी नेपालका नेत्री ललिता दाशले पहिलो पटक मधेशीले प्रधानमन्त्री भएकोमा खुशी व्यक्त गर्दै मधेशको दलितको सहभागिता प्रतिनिधि सभा तथा सरकारमा नहुनु चिन्ताको विषय भएको बताउनु भयो । बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश लोक सेवा आयोगको छैठौ वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो । आजको बैठक भोली दिउँसो १ बजे बस्ने गरि सभामुख रामअशिष यादवले स्थगित भएको घोषणा गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्