तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज नाकाहुँदै ८ महिनामा भारतबाट २२ अर्ब ३३ करोड बढीको खाद्यान्न आयात

नेपाली उत्पादन बढ्दा गतबर्षको तुलनामा चालु आ.ब.को ८ महिनामा ५ अर्ब ८४ करोडको कम खाद्यान्न आयात

वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका बीरगंज भन्सार (आईसिपी) हुँदै आर्थिक बर्ष २०८२/०८३ को ८ महिनामा २२ अर्ब ३३ करोड भन्दा बढीको दलहन तथा खाद्यान्न भित्रिएको छ । 

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद ज्ञवालीले गत आर्थिक बर्ष२०८१/०८२ को ८ महिना अर्थात् फागुन मसान्त सम्ममा वीरगन्ज नाकाबाट २८ अर्ब १७ करोड मूल्य बराबरको दलहन तथा खाद्यान्न आयात भएकोमा यस आर्थिक वर्षमा गतबर्षको भन्दा ५ अर्ब ८४ करोडको कम खाद्यान्न आयात भएको बताउनुभयो । 

खाद्यान्न तथा दलहन आयात घट्नुले नेपाली उत्पादन बढ्दै गएको तथ्य प्रमाणित भएको भन्सारले जनाएको छ । 

बीरगंज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०८१/०८२ को ८ महिनामा १९ अर्ब ९४ करोड २ लाख मूल्य बराबरको धान, चामल, मकै , कोदो लगायतका खाद्यान्न आयात भएको थियो ।  यस आर्थिक वर्षको ८ महिनामा भने १६ अर्ब ६१ करोड  २६ लाख रुपैयाँको खाद्यान्न आयात भएको छ । गतबर्षको तुलनामा यस आर्थिक वर्षको ८ महिनामा खाद्यान्न आयात १८ दशमलब २९ प्रतिशतले घटेको छ । 

त्यसैगरी बीरगंज नाकाबाट चालु आर्थिक बर्ष २०८२/०८३ को ८ महिनामा ५ अर्ब ७० करोड  मूल्य बराबरको दलहन भित्रिएको छ । दलहनमा मुख्यगरी मुसुरो,मुङ, मास, रहर लगायतका खाद्यान्न रहेका छन् । 

यता बीरगंज भन्सार नाकाबाट साउन, भदौ, असोज, कार्तिक, मङ्सिर, पुष,माघ र फागुन महिनामा गतबर्ष ८ अर्ब २२ करोड  ६९ लाख मूल्य बराबरको दलहन भित्रिएको थियो ।  गत वर्षको तुलनामा यस आर्थिक वर्षको ८ महिनामा दलहन आयातमा ३१ प्रतिशतले गिरावट आएको वीरगन्ज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

बीरगंज नाकाबाट चालु आर्थिक बर्ष २०८२/०८३ को ८ महिनामा ८ अर्ब ५५ करोड ९० लाख  मूल्य बराबरको धान भित्रिएको छ भने सो अवधिमा २ अर्ब २४ करोड ८५ लाख मूल्य बराबरको चामल भित्रिएको छ ।

त्यसैगरी बीरगंज भन्सार नाकाबाट ८ महिनामा ४ अर्ब ६७ करोड २४ लाख मूल्य बराबरको मकै भित्रिएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । यसैगरी बीरगंज नाकाबाट फापर, कोदोको पिठो, माल्ट ,गुल्टेन लगायतका खाद्यान्न १ अर्ब १२ करोड ६८ लाख मूल्य बराबरको भित्रिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button