अध्यक्ष ओलीलाई तत्काल रिहाइ गर्न माग, गिरफ्तारी प्रतिशोधपूर्ण रहेको निश्कर्ष

काठमाडौँ I नेकपा एमालेले पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै आफ्ना अध्यक्ष ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउलाई राजनीति प्रतिशोध भएको निष्कर्ष निकालेको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष राम बहादुर थापा बादलको अध्यक्षतामा पार्टी मुख्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले ओलीको गिरफ्तारी विरुद्ध कानुनी, सडक र सदनबाट प्रतिवाद गर्ने निर्णय गरेको हो ।

त्यसैगरी एमाले सचिवालय बैठकले आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको पनि बैठकपछि एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलले भोलिदेखि पार्टीले र आजदेखि जनबर्गीय सङ्गठनहरूले विरोधका कार्यक्रम गर्ने पनि जानकारी दिनुभयो । बैठकले जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने पनि निर्णय गरेको छ।
सबै दलहरूसँग संवाद र सहकार्य गर्ने र नागरिक समाज र आम जनसमुदायसँग सहकार्यका लागि पार्टीले छुट्टा छुटै नेताहरूलाई जिम्मेवारी समेत तोकेको छ ।








प्रतिक्रिया राख्नुहोस्