तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा असिनापानीको प्रकोप : अन्नबालीमा ठूलो क्षति, किसान चिन्तित

बाजुरा। बाजुरा जिल्ला मा शुक्रबार दिउँसो परेको भारी वर्षासँगै आएको असिनापानीले अन्नबालीमा ठूलो क्षति पुर्‍याएको छ।

जिल्लाको बडिमालिका, त्रिवेणी र बुढीगंगा नगरपालिकाका अधिकांश गाउँमा लगाइएका हिउँदे बाली—गहुँ, जौ तथा विभिन्न तरकारी बालीमा व्यापक क्षति पुगेको छ। खेतमै पाक्न लागेको बाली नष्ट भएपछि किसानहरू गम्भीर चिन्तामा परेका छन्।

त्रिवेणी नगरपालिका–१ का कृषक लालबहादुर चदाराले मेहनत गरेर लगाएको बाली भित्र्याउने बेला नष्ट हुँदा खाद्यान्न अभावको चिन्ता बढेको बताए। “अब के खाने भन्ने चिन्ता छ,” उनले भने।

यसैबीच, त्रिवेणी नगरपालिका–२ का वडाध्यक्ष विरबहादुर विक ले असिनापानीका कारण स्थानीयवासी भोकमरीको जोखिममा पर्न सक्ने अवस्था देखिएको बताएका छन्। उनले सरोकारवाला निकायसँग तत्काल राहत तथा सहयोगको अपिल गरेका छन्।

उनका अनुसार क्षतिको यथार्थ विवरण संकलन गरी प्रभावित किसानलाई आवश्यक सहयोग उपलब्ध गराउने पहल भइरहेको छ।

स्थानीय तहहरूले प्रारम्भिक क्षति विवरण संकलन सुरु गरिसकेका छन् भने प्रभावित किसानलाई राहत उपलब्ध गराउने विषयमा छलफल जारी रहेको छ।

लगातार बदलिँदो मौसम र असिनापानीजस्ता प्राकृतिक विपत्तिले कृषिमा निर्भर किसानहरूको जीवनयापन झन् चुनौतीपूर्ण बन्दै गएको देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button