दाउन्नेमा सवारी दुर्घटना : ३ जनाको मृत्यु, दर्जनौँ घाइते
बर्दघाट। पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने क्षेत्रको बर्दघाट नगरपालिका–४ घिउखोलामा गएराति करिब १२:४० बजे भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशातर्फ गुडिरहेका लु २ ख २३५१ नम्बरको बस र ना ५ ख २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको थियो। ठक्करपछि पिकअप सडकछेउमै अड्किएको, बस करिब २०० मिटर तल र ट्रक करिब १०० मिटर तल खसेको जनाइएको छ।
दुर्घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय बर्दघाटबाट संयुक्त रूपमा करिब ८५ जनाको उद्धार टोली परिचालन गरिएको थियो।
घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि चिसापानी अस्पताल लगिएको र त्यसपछि थप उपचारका लागि बुटवलस्थित सुविधासम्पन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला अस्पताल परासीमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये रोल्पा बागमारा निवासी २५ वर्षीय गोबिन बुढा रहेका छन् भने अन्य दुई जनाको पहिचान खुल्न बाँकी छ। मृतकहरूको शव हाल जिल्ला अस्पताल परासीको शवगृहमा राखिएको छ।
दुर्घटनामा बसका यात्रु, चालक तथा ट्रक चालकसहित १३ जना घाइतेलाई बुटवल पठाइएको छ। घाइतेमध्ये अधिकांशको अवस्था मध्यम रहेको छ भने एक अज्ञात महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। साथै, दुई जनाको चिसापानी अस्पतालमै उपचार भइरहेको छ र उनीहरूको अवस्था सामान्य रहेको छ।
उद्धारका क्रममा इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी वरिष्ठ नायव निरीक्षक कमल प्रसाद आचार्यसमेत घाइते भएका थिए। उनलाई बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।
दुर्घटनापछि राजमार्ग अवरुद्ध नभएको र सवारी आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।








प्रतिक्रिया राख्नुहोस्