तपाईँ सुन्दै हुनुहुन्छः

अति तथा मध्यम गरिब घर परिवारलाई महानगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । पोखरा महानगरपालिकाले महानगरमा रहेका अति तथा मध्यम गरिब घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । उक्त अभियानका लागि महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड, गण्डकी प्रदेश बिच सम्झौता समेत भएको महानगरले जनाएको छ ।

पोखरा महानगरपालिकाको अति तथा मध्यम गरिब घर परिवारको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि विपन्न नागरिकहरूलाई स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि, २०८२, स्वास्थ्य बिमा ऐन र नियमावली बमोजिम यो कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले बताउनु भयो ।

पोखरा महानगरपालिका गरिब घर धुरी पहिचान तथा परिचय पत्र विवरण मार्फत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त सूची बमोजिम २०८३ को जेठ मसान्तसम्म लक्षित वर्गको स्वास्थ्य बिमा गरिने उहाँले जनाउनु भयो । स्वास्थ्य बिमा नियमावली २०७५ अनुसार ५ जनासम्म सदस्य भएको प्रति परिवार.३ हजार ५००।– र ५ जना भन्दा बढी सदस्य भएमा प्रति थप सदस्य रु.७००।– बिमा बापतको रकम पोखरा महानगरपालिकाले बिमा बोर्डलाई उपलब्ध गराउनेछ । 

महानगरपालिकाको निःशुल्क बिमा कार्यक्रममा सहभागी तथा नवीकरणका लागि सम्बन्धित वडा कार्यालयबाट अति तथा मध्यम गरिब घर परिवार पहिचानको सिफारिस र दर्ता सहयोगी मार्फत भरिएको दर्ता फारम समेत संलग्न गरी महानगरपालिकाको स्वास्थ्य महाशाखामा आवेदन दिनुपर्नेछ । यसरी पेस हुन आएका विवरण सहितका फारमहरू आवश्यक प्रक्रिया पुरा गरी स्वास्थ्य बिमा बोर्डमा बुझाइसकेपछि स्वास्थ्य बिमा सूचना प्रणालीमा प्रविष्ट गरिनेछ ।

पोखरा महानगरपालिका क्षेत्रमा रहेका गरिबिको रेखामुनिको लक्षित वर्गको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । आर्थिक अवस्था कमजोर भएका कारण आधारभूत सेवाको पहुँचमा पुग्न नसकेको वर्गलाई निकै ठुलो राहत मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

महानगरपालिका सम्पूर्ण नगरवासीहरूको स्वास्थ्य सुरक्षा र प्रवद्र्धनका लागि प्रतिबद्ध रहेको मेयर आचार्यले बताउनुभयो । अति तथा मध्यम गरिब परिवारलाई बिमा गर्ने कार्यका लागि दर्ता सहयोगीलाई आवश्यक अभिमुखीकरण गरिनेछ भएको छ भने लक्षित वर्गलाई यस कार्यक्रम मार्फत लाभ लिन महानगरपालिकाले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button