जेन–जी आन्दोलनका क्रममा जलेका मध्ये आठ हजार नयाँ श्रेस्ता कायम
चितवन I गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा जलेका मध्ये मालपोत कार्यालय भरतपुरका आठ हजार नयाँ श्रेस्ता कायम गरिएको छ । एकीन तथ्याङ्क नभए पनि २ लाख हाराहारी श्रेस्ता कार्यालयमा रहेको अनुमान छ ।
आगजनीका कारण सबै कागजात जलेर नष्ट भएपछि मालपोत कार्यालयले जग्गाधनी प्रमाणपत्रको नयाँ श्रेस्ता कायम गरिरहेको छ । सोहीबमोजिम मालपोत कार्यालय भरतपुर जिल्लाका सातवटै पालिकालाई जग्गाधनीको नयाँ श्रेस्ताका लागि सिफारिस प्रदान गर्न पत्राचार गरेको थियो । कात्तिक महिनाबाट फागुनसम्ममा आठ हजार नयाँ श्रेस्ता कायम भएको कार्यालयका सूचना अधिकारी टीकाराम अधिकारीले जानकारी दिनुभयो ।
प्रदर्शनका क्रममा मालपोत कार्यालय भरतपुरका अधिकांश अभिलेख जलेका थिए । अभिलेख जलेपछि जग्गा सम्बन्धि जुन सुकै काम गर्नका लागि पनि नयाँ श्रेस्ता कायम गर्नु पर्दछ । कामको चापका कारण जग्गा बिक्री वितरण, वन्दक लगाएतका काम परेकाहरूको मात्र नयाँ श्रेस्ता कायम गरिएको अधिकारीले जानकारी दिनुभयो । कामको चाप कम भए पछि अन्यको हकमा समेत सूचना जारी गरी क्रमशः श्रेस्ता कायम गर्ने कार्यालयको तयारी छ ।
उहाँले भन्नुभयो, “आफ्नो जग्गा दाबी गर्न जग्गाधनी आफैँ आउनुपर्ने हुन्छ । दैनिक ९० वटा हाराहारी श्रेस्ता कायम हुने गरेको उहाँले जानकारी दिनुभयो । कार्यालयको भवन काम गर्न सक्ने अवस्थामा छैन । टहरामा काम भइरहेको छ । वनेका श्रेस्ता समेत भण्डारणको समस्या देखिएको छ । नयाँ श्रेस्ता कायम गर्न १० प्रकारका कागजात आवश्यक पर्दछ । अधिकारीका अनुसार नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गा रहेको स्थानीय तहबाट भएको भोगसम्बन्धी र सम्बन्धित जग्गाधनी यकिन गर्ने स्थायी ठेगाना भएको स्थानीय तहको तीनपुस्ते फोटो टाँससहितको सिफारिस, जग्गाधनीसँग भएको सक्कल पुर्जा, जग्गा प्राप्तिको स्रोतमा लिखितबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणित प्रति, प्लट रजिष्ट्रर, फिल्डबुक, नक्सा पेस गर्नुपर्ने हुन्छ । ”
त्यसैगरी, जग्गाधनीले चालू आवको मालपोत बुझाएको रसिद, जग्गा रोक्का रहेको अवस्थामा रोक्का राख्ने संस्थाको सहमति, आवश्यकता अनुसार स्थलगत सर्जमिन, आवश्यकताअनुसार ३५ दिने सार्वजनिक सूचना, गुठी जग्गाको हकमा गुठी संस्थानको सहमतिपत्र चाहिने सूचना अधिकारीले जानकारी दिनुभयो । कार्यालयले भरतपुर महानगरपालिकाका केही वडाहरू, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका हेर्ने गर्दछ । आन्दोलनका क्रममा यो कार्यालय र खैरहनीमा रहेको कार्यालय पूर्ण रुपमा क्षति भएको थियो । क्षति भएका सबै ठाउँमा नयाँ श्रेस्ता कायम गर्नुपर्ने हुन्छ । रासस








प्रतिक्रिया राख्नुहोस्