लुम्बिनी प्रादेशिक अस्पताल पुनः देशकै उत्कृष्ट, ९० अंकसहित पहिलो
रूपन्देही।लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा पुनः उत्कृष्टता कायम गर्दै नेपालमै पहिलो स्थान हासिल गरेको छ। ‘सेकेण्डरी बी’ तहका अस्पतालहरूको मूल्याङ्कनमा ९० अंक प्राप्त गर्दै अस्पताल लगातार तेस्रो पटक देशकै उत्कृष्ट अस्पताल बन्न सफल भएको हो।
लुम्बिनी प्रदेश सरकारले अस्पताललाई प्रदेशको गौरव आयोजनाका रूपमा अघि बढाएको छ। गत वर्ष ८९ अंक प्राप्त गरेको अस्पतालले यस वर्ष अंक सुधार गर्दै ९० अंक हासिल गरेको जनाएको छ।
बुधबार आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा अस्पतालमा उपलब्ध सेवा, उपकरण, भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापनबारे जानकारी गराइएको थियो। यस वर्षको मूल्याङ्कनमा भक्तपुर अस्पतालले पनि समान ९० अंक प्राप्त गरेको छ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सरकारी अस्पतालप्रति नागरिकको धारणा सकारात्मक बन्दै गएको बताए। उनले सरकारी अस्पतालमा सेवा लिन जाँदा नाक खुम्च्याउनुपर्ने अवस्था क्रमशः अन्त्य हुँदै गएको उल्लेख गरे।
मन्त्री सारुले अंक प्राप्तिमा मात्र सीमित नभई नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्नेगरी सेवा सुधार गर्न निर्देशन दिए। उत्कृष्टता कायम राख्नु चुनौतीपूर्ण हुने भन्दै उनले निरन्तर सुधारमा जोड दिए।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रोशनलाल चौधरीले अस्पतालले सेवा विस्तारसँगै विशिष्टीकृत सेवा थप गर्नुपर्ने बताए। उनले आवश्यक पूर्वाधार, जनशक्ति र बजेट व्यवस्थापनमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको जानकारी दिए।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले प्राप्त उपलब्धि सन्तोषजनक भए पनि अझै सुधारका धेरै क्षेत्र रहेको बताए। उनले आधारभूत सेवा मापदण्ड कार्यान्वयनका लागि सरकारी स्तरबाट थप ध्यान दिनुपर्नेमा जोड दिए। साथै, निर्माणाधीन भवनबाट सेवा सञ्चालनका लागि सञ्चालन कार्यविधि (ओएमएस) तयार गर्नुपर्ने आवश्यकता औंल्याए।
अस्पतालले सेवा विस्तार कार्यक्रमअन्तर्गत एमआरआई सेवा सञ्चालन, स्त्रीरोगतर्फ समर्पित अपरेशन थिएटर, डिजिटल भुक्तानी सेवा, एसएमएसमार्फत मेडिकल रिपोर्ट उपलब्ध गराउने व्यवस्था, फार्मेसी सेवा विस्तार, चौबिसै घण्टा स्वास्थ्य बीमा सेवा तथा सामाजिक सेवा इकाई सञ्चालन गरिरहेको जनाएको छ।
यसैगरी, फोहर व्यवस्थापनका लागि अटोक्लेभ मेसिनमार्फत प्रशोधन गरी सुरक्षित व्यवस्थापन गर्ने प्रणाली लागू गरिएको छ। अस्पतालले आइभिएफ सेवा सञ्चालनका लागि अध्ययन प्रक्रिया समेत सुरु गरेको जनाएको छ।
अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमका अनुसार हाल अस्पतालमा ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० भन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीबाट सेवा प्रदान भइरहेको छ।
लुम्बिनी प्रादेशिक अस्पतालले निरन्तर सेवा सुधार र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।






प्रतिक्रिया राख्नुहोस्