बाँकेमा अवैध कुखुरा ओसारपसार बढ्दो, बर्डफ्लुको जोखिम उच्च
बाँके।नेपाल–भारत सीमामा बर्डफ्लुको उच्च जोखिम बढिरहेका बेला बाँके जिल्लामा भारतीय चल्ला र कुखुराको अवैध ओसारपसार झनै मौलाउँदै गएको छ। भारतमा बर्डफ्लुको संक्रमण फैलिँदै पूर्वी नेपालसम्म प्रभाव देखिइसक्दा पनि बाँकेमा भने अवैध आयात नियन्त्रण हुन सकेको छैन।
सिमावर्ती क्षेत्र नरैनापुर, खडैचा, हिरमिनिया, कालाबन्जर, जमुनाहा, पिप्रहवा, जयसपुर, साईगाउँ, बडैया तथा सैनिक नाकाबाट भारतीय चल्ला र कुखुरा खुलेआम भित्रिने गरेको स्थानीयको भनाइ छ। प्रत्यक्षदर्शीका अनुसार भारतको तेलियनपुर क्षेत्र हुँदै तस्करहरूले ठूलो मात्रामा कुखुरा र चल्ला नेपाल भित्र्याउने गरेका छन्।
भारतमा सस्तो मूल्यमा पाइने कुखुरा नेपालमा ल्याएर नेपाली उत्पादन भन्दै बिक्री गरिँदै आएको छ। यसले सीमावर्ती क्षेत्रका स्थानीय कुखुरा व्यवसायीलाई प्रत्यक्ष मारमा पारेको छ। अधिकांश कुखुरा फार्म सीमाकै आसपास सञ्चालनमा रहेकाले संक्रमण फैलिने जोखिम झनै उच्च भएको स्थानीयहरू बताउँछन्।
स्थानीयका अनुसार अवैध रूपमा ल्याइएका कुखुरा र चल्ला सिधै फार्मसम्म पुर्याइन्छ र त्यहाँबाट ‘वैध’ बनाइ बजारमा पठाइन्छ। केही व्यवसायी र तस्करबीचको मिलेमतोका कारण यस्तो गतिविधि भइरहेको भए पनि सरकारी निकायबाट प्रभावकारी अनुगमन र कारबाही नहुँदा समस्या झनै जटिल बन्दै गएको छ।
नरैनापुर ‘ट्रान्जिट पोइन्ट’ बन्दै
यसैबीच, नरैनापुर गाउँपालिका लागुऔषधको ‘ट्रान्जिट पोइन्ट’ का रूपमा विकसित हुँदै गएको आरोप पनि स्थानीयले लगाएका छन्। अझ गम्भीर कुरा के भने—स्वास्थ्यकर्मी नै लागुऔषध कारोबारमा संलग्न रहेको आरोप सार्वजनिक भएको छ।
वडा नं. ४ का राम बिकास यादवका अनुसार स्वास्थ्य संस्थामा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ड्युटी हुनुपर्ने भए पनि कर्मचारीहरू प्रायः अनुपस्थित रहने गरेका छन्। “आए पनि नशाको अवस्थामा आउँछन्, रजिष्टरमा हस्ताक्षर गरेर फेरि भारततर्फ लागुऔषध ओसारपसारमा संलग्न हुन्छन्,” उनले बताए।
स्थानीयका अनुसार स्वास्थ्य शाखाले आफ्ना कर्मचारीमाथि प्रभावकारी निगरानी गर्न नसक्दा यस्तो अवस्था सिर्जना भएको हो।
प्रहरी स्रोतका अनुसार स्वास्थ्यकर्मी संलग्नताको विषयले प्रहरीसमेत अचम्मित बनेको छ। केही कर्मचारी दिउँसो मात्र आउने र पुनः भारततर्फ फर्किने गरेको जानकारी भए पनि ‘स्वास्थ्यकर्मी’ भएकै कारण उनीहरूमाथि कडाइका साथ निगरानी नगरिएको स्वीकार गरिएको छ। तर अब भने त्यस्ता कर्मचारीमाथि कडा चेकजाँच गरिने प्रहरीले जनाएको छ।
राजनीतिक पहुँचका आधारमा करारमा नियुक्ति पाएका केही पुरुष स्वास्थ्यकर्मीलाई कार्यालयमै बसोबासको सुविधा दिइए पनि उनीहरू सेवाभन्दा अवैध गतिविधिमा संलग्न रहेको आरोपले स्थानीयलाई थप चिन्तित बनाएको छ।
स्थानीयवासीले सीमामा कडाइ, कुखुरा आयातमा नियन्त्रण, स्वास्थ्य संस्थाको नियमित अनुगमन तथा लागुऔषध नियन्त्रणमा प्रभावकारी कारबाहीको माग गरेका छन्।








प्रतिक्रिया राख्नुहोस्