तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेश सरकारद्वारा  कृषि कर्जा ब्याज अनुदान कार्यक्रम सञ्चालन

विराटनगर ।  कोशी प्रदेश सरकारले कृषिमा व्यवसायीकरण गर्ने उद्देश्यले कृषि कर्जा व्याज अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

कृषिको व्यावसायिक उत्पादन, प्रशोधन, भण्डारण बजारीकरण तथा कृषि उपजको मूल्य अभिवृद्धिका लागि  किसानलाई बैङ्क, वित्तीय तथा सहकारी संस्थामार्फत लिएको  कृषि कर्जाको व्याजमा अनुदान दिन  कार्यक्रम सञ्चालनमा आएको हो ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश मार्फत सञ्चालनमा आएको  कार्यक्रमले बैङ्क, वित्तीय तथा सहकारीबाट लिएको कृषि कर्जा ऋणको व्याजमा  ६ देखी ८ प्रतिशत रकम मन्त्रालयले बेहोर्ने छ ।

व्यावसायिक किसानलाई कृषि कर्जामा व्याज अनुदान दिन आएको यो कार्यक्रमले धेरै किसानलाई प्रतिफल दिने मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोखरेलको भनाई छ ।

जिल्लामा रहेका कृषि ज्ञानकेन्द्र तथा पशुसेवा केन्द्रबाट  सिफारिस भएर छनौट भएका कृषक समूह तथा संस्थाले ७ लाख देखि ५० लाख सम्म र सहकारी मार्फत कृषि उपज मूल्य अभिवृद्धि गर्ने संस्थालाई ३ करोड सम्मको ऋणमा व्याजमा अनुदानको व्यवस्था गरिएको छ ।

त्यसका लागि चालु आर्थिक वर्षमा मन्त्रालय १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सूचीकृत भएका बैङ्क तथा वित्तीय संस्थाबाट १० देखि ५० लाख तथा सहकारीबाट १० लाख सम्म ऋण उपलब्ध हुँदै आएको अधिकृत पोखरेलको भनाई छ । 

दुई वर्ष अघि शुरु भएको यो कार्यक्रम अन्तर्गत व्यावसायिक कृषिका लागि मोरङ जिल्लामा गत आर्थिकवर्ष ३५ जना किसानलाई कृषि कर्जाको व्याजमा अनुदान प्रक्रिया अघि बढाइएको र चालु आर्थिक वर्षमा अहिले सम्म ११ जना किसान  सिफारिस भएको कृषि ज्ञान केन्द्र मोरङका माटो विज्ञ महेश सापकोटाले बताउनुभयो । 

तरकारी, च्याउ तथा  फलफूल खेतीसँगै मौरी पालन व्यवसाय सञ्चालन गर्ने किसानका  लागि लिएको कृषि कर्जामा व्याज अनुदानका लागि सिफारिस भएका छन् । कृषि ज्ञान केन्द्रले ३ करोड ४० लाख बराबरको व्याज अनुदानका लागि सिफारिस गरेको छ । 

यो कार्यक्रम अन्तर्गत विराटनगर–७ स्थित ईश्वर  साना किसान सहकारी संस्थामा आवद्ध ३१ जना किसानले वित्तीय संघ संस्था मार्फत ऋण लिएर तरकारी खेती गर्दै आएका छन् । प्रत्येक किसान ५  देखि ७ लाख सम्म ऋण लिएर कृषि व्यवसाय सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष बलबहादुर घिमिरेको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button