रामनवमी कप भलिबल : सभापोखरी, पाख्रिवास र कन्काइ विजयी
धनकुटा । धनकुटाको हिलेमा जारी १८ औ संस्करणको कोशी प्रदेश स्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिता बुधबार तीन खेल सम्पन्न भएका छन् ।

हिले भलिबल क्लबको आयोजनामा हिले खेलमैदानमा भएको प्रतियोगिता अन्तरगत बुधबार भएको पहिलो खेलमा सङ्खुवासभाको सभापोखरी गाउँपालिकाले धनकुटाको महालक्ष्मी नगरपालिकालाई २५—१५, २५—१७ र २५—२३ को सोझो सेटले हराएको हो ।
त्यस्तै दोस्रो खेलमा धनकुटाको पाख्रिवास नगरपालिकाले भोजपुरको अरुण गाउँपालिकालाई २५—१८, २५—१९ र २५—१३ को सोझो सेटले हराउन सफल भएको थियो ।
यता तेस्रो खेलमा झापाको कन्काइ नगरपालिकाले भोजपुरको आमचोक गाउँपालिकालाई २१—२५, २५—२१ र २५—२० र २६—२४ को सेटले पराजित गरेको क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिनुभयो ।
मङ्गलवार भएको उद्घाटन खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिकाले भोजपुरकै हतुवागढी गाउँपालिकालाई १९—२५, २्५—२३, २४—२६, २५—०९, १५—१० को सेटमा पराजित गरेको थियो । प्रतियोगिता अन्तरगत बिहीबार सेमिफाइनल चरणका खेलहरू र शुक्रबार फाइनल खेल हुनेछ ।
प्रतियोगितामा विजेता टोलीले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा कोशी प्रदेशका ९ विभिन्न पालिकाको सहभागिता रहेको छ। हिलेमा रामनवमीको अवसरमा २०५५ सालबाट भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्