तपाईँ सुन्दै हुनुहुन्छः

च्यामसिंह–ताथली–नाला सडकमा दुर्घटना बढेपछि न्यूनीकरणको पहल

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत बनेपा–धुलिखेल छ लेन  सडक बिस्तारका क्रममा सवारी चाप बढेसँगै च्यामसिंह–ताथली–नाला सडकमा दिनहुँ दुर्घटना बढ्न थालेको छ ।

यो सडक खण्डमा दुर्घटना बढेपछि भक्तपुरका प्रमुख जिल्ला आधिकारी नेतृत्वको टोलीले दुर्घटना न्युनिकरणका लागि पहल गरेको छ । 

प्रजिअ उमेश कुमार ढकालको नेतृत्वमा भएको सडकको अनुगमनमा सडक अन्तर्गत ताथलीस्थित दत्तात्री खाद्य उद्योग नजिकै बढी दुर्घटना हुने गरेको  पाइएको छ ।

यस क्षेत्रमा एकैदिन आफ्नै आँखा अगाडी तीन वटासम्म दुर्घटनामा भएको बताउँदै स्थानीय उद्योगी सञ्जीव मधिकर्मीले आफु पनि असुरक्षित महसुस हुन थालेको बताउनुभयो । दुर्घटना बढेपछि आफूले सडक क्षेत्रमा तीनवटा सिसी क्यामेरा जडान गरिदिएको मधिकर्मीको भनाई थियो ।

एक वर्षअघि चाँगुनारायण नगरपालिकाले यहाँ नौवटा सिसी क्यामेरा जडान गरे पनि अहिले एउटा पनि सञ्चालनमा नरहेको वडाध्यक्ष गणेश त्यातले बताउनुभयो ।

सिसी क्यामेरासमेत नहुँदा दुर्घटना गरेर सवारी साधन भाग्ने र गल्ती गर्नेलाई कारबाही गर्न समेत समस्या भएको प्रहरी वृत्त जगातेकी प्रमुख चञ्चला श्रेष्ठको भनाइ छ । 

सिसी क्यामेरा जडान र सचेतनामूलक बोर्ड राख्न सके दुर्घटना न्युनिकरणका साथै अनुसन्धानमा समेत सहयोग पुग्ने श्रेष्ठले बताउनुभयो । साँघुरो सडकमा सवारी चाप, चालकमा अनुशासनको कमी र द्रुत गतिमा सवारी हुइँक्याउने परिपाटीको विकास भएका कारण दुर्घटना बढेको स्थानीयवासीको भनाइ छ । 

बढी जोखिम हुने स्थानमा ट्राफिक प्रहरी खटाएर निगरानी बढाएर दुर्घटना न्युनिकरण गर्नसमेत स्थानीयले माग गरेका छन् । अनुगमनका क्रममा प्रजिअ ढकाल र प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले दुर्घटनाग्रस्त क्षेत्रमा तत्काल सुरक्षाकर्मी राखेर ट्राफिक अनुशासन कायम गराउने, फ्लेक्स बोर्ड, सिसी क्यामेरा राख्न पहल गर्ने बताउनुभएको छ । 

अनुगमनमा ट्राफिक प्रहरी भक्तपुरकी प्रमुख प्रहरी निरीक्षक झरना सोनार, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । 

यसै सडकमा केही महिनाअघि तीन वटा बाईक जुध्दा एक १७ बर्षीय युवाको मृत्यु भएको थियो भने दुई जना गम्भीर घाइते भएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button