क्षमताभन्दा २०० बढी कैदीबन्दी : बाँके कारागारमा मानव अधिकार संकट गहिरियो
बाँके । बाँके कारागारमा क्षमताभन्दा करिब २०० बढी कैदीबन्दी राखिएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको अनुगमनका क्रममा सात सय जनाको क्षमता रहेको कारागारमा हाल ८८९ कैदीबन्दी तथा थुनुवा राखिएको तथ्य सार्वजनिक भएको हो।

अनुगमनका क्रममा कैदी बन्दीहरू अत्यन्त भिडभाडयुक्त अवस्थामा बस्न बाध्य रहेको पाइएको छ। एउटै कोठामा १२ देखि ४० जनासम्म बस्नुपर्ने अवस्था रहेको छ भने शौचालय प्रयोग गर्न समेत लामो समय पालो कुर्नुपर्ने समस्या देखिएको छ। साथै, स्वास्थ्य सेवा, सरसफाइ तथा पठनपाठनका व्यवस्थित सुविधाको अभावले कैदी बन्दीहरू दैनिक रूपमा कठिनाइ भोगिरहेका छन्।
इन्सेकका प्रमुख भोला महतले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिनु मानव अधिकार उल्लङ्घनको गम्भीर विषय भएको उल्लेख गर्नुभयो । उहाँले आधारभूत स्वास्थ्य सेवा, सरसफाइ, शौचालय, शिक्षा तथा न्यायिक प्रक्रियाको सुनिश्चितताका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
यसैबीच, अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको पनि निरीक्षण गरेको थियो। सो हिरासतमा हाल ६१ जना थुनुवा रहेको र केहीको म्याद थप नभई अनुसन्धानकै क्रममा राखिएको अवस्था भेटिएको महतले जानकारी दिनुभयो ।
अनुगमन टोलीले कारागारभित्र कैदी बन्दीहरूको आधारभूत मानव अधिकार, स्वास्थ्य सेवा, सरसफाइ तथा न्यायिक प्रक्रियामा गम्भीर चुनौती देखिएको निष्कर्ष निकालेको छ। टोलीका अनुसार कारागार व्यवस्थापन, कैदीबन्दीको दैनिक जीवनयापन तथा न्यूनतम मानव अधिकारसमेत सुनिश्चित हुन सकेको छैन।
इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले कैदीबन्दी तथा थुनुवाहरूका लागि गुणस्तरीय खाना, स्वास्थ्य सेवा र आधारभूत मानव अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेको बताउनुभयो ।
त्यस्तै, नौवस्ता कारागारमा हाल ६९१ जना कैदीबन्दी रहेका छन्। अनुगमन टोलीले कारागारको आवास क्षमता विस्तार, भीड व्यवस्थापन, स्वास्थ्य बिमा पहुँच, न्यायिक सूचना प्रवाह, शिक्षा तथा धार्मिक अभ्यासको व्यवस्था सुधार गर्न तत्काल पहल आवश्यक रहेको निष्कर्ष निकालेको छ।








प्रतिक्रिया राख्नुहोस्