अम्लिसोको कुचोबाट महिलाहरूलाई आत्मनिर्भर बनाउन तालिम सुरु
नवलपरासी । ग्रामीण क्षेत्रमा पाइने अम्लिसोबाट तयार गरिने कुचोलाई आयआर्जनको माध्यम बनाउँदै स्थानीयस्तरमा आत्मनिर्भरता बढाउने उद्देश्यले महिलाहरूलाई कुचो बनाउने तालिम सुरु गरिएको छ ।

यस अभियानअन्तर्गत मूलतः गृहिणी महिलाहरू लाई लक्षित गरी अम्लिसो सङ्कलन, प्रशोधन र कुचो निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ। सहज रूपमा पाइने कच्चा पदार्थको प्रयोग गरी कम लगानीमै राम्रो आम्दानी गर्न सकिने भएकाले यो पेशा प्रभावकारी बन्न सक्ने वडा नम्बर २ का अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताउनुभयो । केही अम्लिसो खरिद गरिएको र केही खेर गइरहेका स्थानीय स्तरमा रहेका अम्लिसो प्रयोगमा ल्याइएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । तालिम तीन दिनसम्म सञ्चालन हुने छ ।
अभियानले विशेषगरी ग्रामीण भेगका महिलालाई आर्थिक रूपमा सशक्त बनाउने लक्ष्य राखेको छ। तालिमपछि सहभागीहरूलाई आवश्यक उपकरण तथा बजार व्यवस्थापनमा समेत सहयोग गर्ने योजना रहेको जनाइएको छ । तालिममा सहभागी महिलाहरूले हरेक घरमा कुचो दैनिक रुपमा प्रयोग हुने हुँदा निरन्तरता दिन सके राम्रो आय अर्जन हुन सक्ने बताए । एक सय बढी महिलाहरू तालिममा सहभागी भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्