वीरगन्जमा ‘जाऔँ है पोखरा’ अभियान सम्पन्न
वीरगञ्ज । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित होटल संघ पोखरा नेपालद्वारा सञ्चालनमा रहेको ‘जाऔँ है पोखरा’ अभियान अन्तर्गत आज वीरगञ्जमा विशेष प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश पर्यटन प्रवर्द्धनको सहकार्यमा पूर्वी नेपालका शहर–वीरगञ्ज, विराटनगर र इटहरीमा अभियान विस्तार गरिएको हो ।
आयोजकका अनुसार अभियानको मूल उद्देश्य आन्तरिक पर्यटकको संख्या वृद्धि गर्नु र पोखरालाई थप आकर्षक तथा सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नु हो ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले पर्यटन क्षेत्र समृद्धिको आधार भएकाले राज्य, निजी क्षेत्र र सञ्चारकर्मीबिच सहकार्य अपरिहार्य भएको बताउनुभयो । उहाँले पर्यटकले भोगिरहेको सेवा–सुविधाको कमी, व्यवस्थापन कमजोरी र यातायात कठिनाइका चुनौती समाधान गर्न ऐक्यबद्ध प्रयास आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै देखिएका समस्याहरूलाई योजनाबद्ध रूपमा समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा संयोजक केसी लामिछाने तथा अन्य वक्ताहरूले पनि पर्यटन क्षेत्रमा दीर्घकालीन रणनीति आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय परिस्थितिका कारण बाह्य पर्यटक आगमन घटेको वर्तमान अवस्थामा आन्तरिक पर्यटन सक्रिय बनाउन अभियान सञ्चालन गरिएको आयोजकले बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई तथा स्थल कनेक्टिभिटी विस्तार हुँदै गएकाले सो अभियानले थप प्रभावकारी परिणाम ल्याउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमका अध्यक्ष लक्ष्मण सुवेदीले सुरक्षित, स्वच्छ र शान्त वातावरणमा पोखरा भ्रमण गर्न सहभागी र सर्वसाधारणलाई आग्रह गर्दै ‘जाऔँ है पोखरा’ अभियान सफल बनाउन सबैको साथ–समर्थन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा होटल व्यवसायी, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले आ–आफ्नो स्तरबाट सक्रिय सहयोग पुर्याई पर्यटन प्रवर्द्धनमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्