तपाईँ सुन्दै हुनुहुन्छः

बड्घर–चौकीदारलाई साईकल वितरण

बाँके। बैजनाथ गाउँपालिकाले थारु समुदायको परम्परागत संरचना र संस्कृतिको संरक्षणमा जोड दिँदै बड्घर र चौकीदारलाई साईकल वितरण गरेको छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत सोमबार गाउँपालिका कार्यालय रामपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रकाशबहादुर शाहीले साईकल हस्तान्तरण गर्नुभयो । वडा नं. १ देखि ८ सम्मका ३६ टोलका प्रतिनिधि बड्घर तथा चौकीदारलाई ३६ वटा साईकल वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष शाहीले थारु समुदायमा बड्घर र चौकीदारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनीहरुको कामलाई सहज बनाउन साईकल उपलब्ध गराइएको बताउनुभयो । गाउँ–समाजमा विवाद समाधान, मेलमिलाप कायम र सामाजिक सद्भाव जोगाउने कार्यमा उनीहरुको सक्रियता रहने उहाँको भनाइ थियो ।

उपाध्यक्ष निर्मला रोकायले स्थानीय संस्कृति संरक्षणसँगै समुदाय सशक्तीकरणमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । परम्परागत संरचनाको सुदृढीकरणले स्थानीय शासन प्रणालीसमेत मजबुत हुने उहाँले उल्लेख गर्नुभयो ।

थारु समुदायमा माघी पर्वका अवसरमा बड्घर र चौकीदार चयन गर्ने प्रचलन रहँदै आएको छ । साईकल पाएपछि उनीहरुले दैनिक काममा सहजता आएको प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष प्रेमबहादुर शाही, प्रशासन शाखा प्रमुख तप्तराज आचार्य लगायत जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button