तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा आठ महिनामा क्षयरोगबाट ३५ जनाको मृत्यु

विराटनगर । मोरङमा पछिल्लो ८ महिनामा क्षयरोगबाट ३५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन सम्ममा उक्त सङ्ख्यामा क्षयरोगबाट मृत्यु भएको हो ।

विश्व क्षयरोग दिवसका अवसरमा आज स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा समाजले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । क्षयरोगका कारण गत आर्थिक वर्ष मोरङमा ४० जनाको मृत्यु भएको थियो ।

आ.व.२०८०–०८१ मा क्षयरोगका कारण ३० जनाले ज्यान गुमाएका थिए । मृत्यु हुनेमा १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरू रहेको स्वास्थ्य कार्यालय मोरङका क्षय कुष्ठ अधिकृत मुलकचन्द राजवंशीले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको हालसम्म मोरङमा ९०९ जना क्षयरोगका संक्रमित रहेका छन् । गत आर्थिक वर्षमा १ हजार २२२ जना संक्रमित थिए भने त्यस्तै आ.व.२०८०–०८१ मा १ हजार १५० जना क्षयरोगका सङ्क्रमित रहेको अधिकृत राजवंशीले जानकारी दिनुभयो ।

मोरङका सुन्दरहरैचा, पथरी शनिश्चरे, उर्लाबारी क्षेत्रमा क्षयरोगका संक्रमित बढी रहेको पाइएको छ । क्षयरोगीहरूको निःशुल्क उपचारका लागि मोरङमा १७ वटै स्थानीय तहका १ सय २३ वटा सेन्टरबाट प्रत्यक्ष निगरानीमा निःशुल्क औषधि सेवन कार्यक्रम (डट्स) सेवा सञ्चालन भइरहेको छ । 

क्षयरोगका उपचार निःशुल्क रूपमा सरकारी स्वास्थ्य संस्थामा उपलब्ध रहेको बागमती समाज मोरङका परियोजना संयोजक राम प्रवेशकुमार महतोले बताउनुभयो । औषधि कम्तीमा ६ महिना वा चिकित्सकले तोकेको समयसम्म नियमित लिनुपर्ने र औषधि बीचमै छोड्दा रोग झन् गम्भीर हुने भएकाले क्षयरोगका बिरामीलाई बीचमै औषधि नछाड्न उहाँले आग्रह गर्नुभयो ।

सन् २०५० सम्ममा नेपालबाट क्षयरोग निवारण गर्ने सरकारको लक्ष्य रहेको छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ, राष्ट्रिय अभियान, हाम्रो योगदान ।’ भन्ने नाराका साथ नेपालमा मङ्गलवार विश्व क्षयरोग दिवस मनाईदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button