तपाईँ सुन्दै हुनुहुन्छः

चैती छठको आज दोस्रो दिन, खरना विधि गरी मनाइँदै 

वीरगञ्ज । वीरगन्जसहित तराइका जिल्लामा लोक आस्थाको पर्व चैती छठको आज दोस्रो दिन खरना विधि गरी मनाइँदै छ । चैत शुक्ल पक्षमा चार दिनसम्म मनाइने यो लोक आस्था र श्रद्धाको पर्व हिजोदेखि नहाय–खाय विधिबाट औपचारिक रूपमा सुरु भएको थियो ।

नेपालको तराई क्षेत्र विशेष गरी बारा, पर्सा, रौतहट, सर्लाही, सिराहा, सप्तरी, महोत्तरी, धनुषा लगायतका क्षेत्रमा विशेष रूपमा मनाइने चैती छठमा व्रतालुहरूले सूर्य भगवान् र छठी माताको उपासना गर्छन् । छठ पर्व वर्षमा दुई पटक मनाउने चलन छ । पहिलो पटक कार्तिक र दोस्रो पटक चैतमा मनाइन्छ । चैती छठलाई चैत्र महिनाको शुक्ल पक्षमा मनाइन्छ ।

हिजो आइतबार चैत शुक्ल चतुर्थी तिथिमा व्रतालुहरूले बिहानै नदी, तलाउ वा पोखरीमा स्नान गरी शुद्ध भएर प्याज–लसुनबिनाको शुद्ध शाकाहारी भोजन (जस्तै कद्दू–भात) ग्रहण गर्दै “नहाय–खाय” विधि गरेका थिए । नहाय खाय विधिले शरीर र मनको शुद्धि गरी व्रतको लागि तयारी गरिन्छ ।

आजको सोमबार चैत शुक्ल पञ्चमीका दिन खरना विधि भइरहेको छ । व्रतालुहरू (महिला र पुरुष दुवै) ले दिनभरि उपवास (निराहार) बसेर साँझ माटोको चुल्होमा दूध, आर्वा चामल र सख्खर (गुड़) हालेर खिर (रसियाव) र रोटी बनाउँछन् । यसलाई विभिन्न फलफूल (केरा, स्याउ, नरिवल, ज्यामिर आदि) र मिठाइसँग सजाएर छठ देवी र कुल देवताको पूजा गरी चढाइन्छ ।

पूजा समाप्त भएपछि व्रतालु र घरपरिवारका सबै सदस्यले यो सामग्रीलाई प्रसाद (सरियाव–रोटी) को रूपमा ग्रहण गर्छन् । यसपछि ३६ घण्टाको कठोर निराहार–निर्जला व्रत सुरु हुन्छ । यस अवसरमा पोखरी, नदी र तलाउहरूको सरसफाइ तथा सजावटमा स्थानीयहरू व्यस्त देखिन्छन् ।

पर्वको तेस्रो दिन मङ्गलवार चैत शुक्ल षष्ठी तिथिलाई मुख्य दिन मानिन्छ । तेस्रो दिनलाई सँझिया घाट वा सन्ध्या अर्घ्य पनि भनिन्छ । यस दिन व्रतालुहरू छठघाटमा पुगेर अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिन्छन् । विशेष प्रसादका रूपमा गहुँ वा चामलको पिठोबाट बनाइएको ठेकुवा, मुला, गाजर, बेसारको हरियो बेर्ना, उखु, सिँगडा, ज्यामिर, नरिवल, फलफूल आदिले अर्घ्य चढाइन्छ ।

अन्तिम दिन बुधवार चैत शुक्ल सप्तमी तिथिमा बिहान व्रतालुहरू पुनः छठघाटमा पुगेर उदाउँदो सूर्यलाई उषा अर्घ्य दिएपछि यो पर्व विधिवत् रूपमा समापन हुन्छ । छठ पर्वलाई स्वास्थ्य, समृद्धि, परिवारको कल्याण र सूर्य देवताको कृपा प्राप्तिका लागि अत्यन्त निष्ठापूर्ण तथा कठोर साधनाको पर्वका रूपमा लिइन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button