तपाईँ सुन्दै हुनुहुन्छः

‘आर्थिक गणना सफल बनाउन नीजि क्षेत्रको पूर्ण साथ रहन्छ’

जनकपुरधाम । वैशाख २ गतेबाट हुन लागेको आर्थिक गणनालाई सफल बनाउने प्रतिबद्धता नीजि क्षेत्रका व्यवसायीहरूले गर्नुभएको छ । 

राष्ट्रिय आर्थिक गणना २०८२ जिल्ला आर्थिक गणना कार्यालय धनुषाले आज जनकपुरधाममा सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा सहभागी नीजि क्षेत्रका व्यवसायी तथा प्रतिष्ठानहरूले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

उहाँहरूले आर्थिक गणनाले सही तथ्याङ्क आएको खण्डमा त्यसको आधारमा देशको आर्थिक विकास गर्नका लागि नीति बनाउनमा महत्वपूर्ण हुने भएकाले आफूहरूले निर्धक्क भएर गणकहरूलाई विवरण दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले मुलुकको आर्थिक विकास तथा नयाँ नीति निर्माण गर्दा मद्दत पुग्ने भएकाले ४० वटै वस्तुगत संस्थाहरूले तथ्यमा आधारित भएर गणकलाई निर्धक्क भएर विवरण दिनका लागि सुझाव दिनुभयो । 

औषधि व्यवसायी संघका अध्यक्ष प्रमोद अग्रवालले आर्थिक गणनाको आधारमा देशमा आर्थिक विकास तथा नीति निर्माणमा मद्दत पुग्ने भएकाले सही विवरण गणकलाई उपलब्ध गराउन सुझाव दिनुभयो । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले आर्थिक गणनाले देशको आर्थिक क्षेत्रको नीति निर्माण गर्नमा मद्दत पुग्ने भएकाले सही तथा तथ्यपरक विवरण गणना गर्न आउने गणकलाई उपलब्ध गराउन आग्रह गर्नुभयो । 

जिल्ला आर्थिक गणना कार्यालय धनुषाका जिल्ला गणना अधिकृत शिवनारायण महतोले विभिन्न १८ वटा क्षेत्रलाई आधार मानेर गरिने आर्थिक गणनाको कार्यक्रम धनुषा जिल्लामा वैशाख २ गते देखि असार ७ गतेसम्म चल्ने जानकारी दिनुभयो । यस पटक हुन लागेको आर्थिक गणना नेपाल सरकारको आर्थिक लगानी तथा तयारीबाट हुन लागेकाले यसलाई सफल बनाउन उहाँले सबैमा अपिल गर्नुभयो ।

नेपालमा यस अघि २०७५ सालमा पहिलो पटक आर्थिक गणना जापान सरकारको सहयोगमा भएको थियो । पहिलो आर्थिक गणनामा गणना भएका प्रतिष्ठानमा दर्ता भएकाको संख्या ५०.१ प्रतिशत रहेका थिए भने दर्ता नभएका संस्थाको संख्या ४९.९ प्रतिशत रहेका थिए । मधेश प्रदेशमा १ लाख १७ हजार ६ सय ७० प्रतिष्ठानको गणना गरिएको थियो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button