काम छिटो गरिदिने बहानामा सेवाग्राहीलाई दुःख दिने १८ जना पक्राउ
सुनसरी । सेवाग्राहीलाई दुःख तथा हैरानी दिएको सूचनाका आधारमा सुनसरीका मालपोत तथा यातायात व्यवस्था कार्यालय इटहरी परिसरबाट प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र भण्डारीका अनुसार चैत १८ गते इनरुवा नगरपालिका–३ स्थित मालपोत कार्यालय परिसरबाट सेवाग्राहीको काम छिटो गरिदिने बहानामा सेवाग्राहीलाई दुःख दिने काम गरिरहेका १३ जनालाई नियन्त्रणमा लिइएको हो।
यसैगरी इटहरी यातायात कार्यालय परिसरबाट अन्य ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक प्रकाश पराजुलीको नेतृत्वमा रहेको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ। नियन्त्रणमा पर्नेहरूको नाम खुलाइएको छैन। नियन्त्रणमा लिएका मध्ये दुई जना महिला समेत रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्