तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पामा अवैध जडीबुटीसहित ४ जना पक्राउ, ३५ क्विन्टल पदमचाल बरामद

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज प्रशासनमा बुझाइएको छ । 

संयुक्त गस्ती टोलीले २०८२ चैत ८ गते राति करिब ९ बजेबाट सुरु गरेको अपरेसनअन्तर्गत चैत ९ गते बिहान ३:३० बजे त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट क्षेत्रमा छापा मारेको थियो। सो क्रममा करिब ३५ क्विन्टल (१०१ बोरा) पदमचाल जडीबुटी र दुई वटा ट्र्याक्टर बरामद गरिएको छ ।

उक्त कारबाही सङ्ग्राम शार्दूल गुल्मका उपसेनानी सुशील दाहालको कमाण्डमा नेपाली सेना र निकुञ्ज प्रशासन कार्यालयका सिनियर गेम स्काउटसहितको संयुक्त टोलीले सञ्चालन गरेको हो । 

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–५ का ३६ वर्षीय नरेश बुढा, सल्यानको कुमाख गाउँपालिका–४ का २५ वर्षीय एलिश बुढा (चालक), रुकुम पश्चिम आठबिस नगरपालिका–७ का ४८ वर्षीय कृष्ण बि.क. (चालक) तथा त्रिपुरासुन्दरी–५ का ३३ वर्षीय विकास रोकाया रहेका छन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगार्ड डोल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button