भारतीय दम्पती मृत अवस्थामा फेला

वीरगञ्ज । वीरगन्जकोे नयाँ बसपार्क स्थित भानु चोक नजिकै रहेको नवदुर्गा लजमा एक भारतीय दम्पती मृत अवस्थामा फेला परेका छन् ।
लजको कोठाभित्र एउटै सीलीङ् फ्यान (पङ्खा)मा दुवै जना पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
भारतको पश्चिम बङ्गाल प्रान्तको कलकत्ताका अन्दाजी ३४ वर्षीय बपन पत्रामा र उनकी पत्नी–नाम नुखलेको अन्दाजी ३०/३२ वर्षकी महिला एउटै पङ्खामा पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
होटल सञ्चालकले दिएको जानकारी अनुसार, ती दुवै जना चैत ४ गते बिहान लजमा बास बस्न आएका थिए । त्यही दिन लजको कोठाबाट उनीहरू सँगै बाहिर निस्किएर बजार घुमेर फेरि लजमै फर्किएका थिए ।
आइतबार अबेरसम्म पनि उनीहरूमध्ये कोहिपनि कोठाबाट ननिस्किएपछि लजका कर्मचारीले कोठाको ढोकामा पुगेर ढक्ढक्याउँदापनि भित्रबाट कोठा नखुलेपछि लजका सञ्चालकले प्रहरीकोमा खबर गरेका थिए । त्यसपछि लजमा पुगेको प्रहरीले भित्रबाट चुकुल लगाइएको ढोका फोडेर पस्दा ती दुवै जना एउटै पङ्खामा पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
लजमा बास बस्न आएको दिन उनीहरूले कलकत्ताका बपन पत्रमाको नाममा लजको रजिस्टरमा नाम इन्ट्री गराएको देखिएको भन्दै बस्नेतले मृतक महिलाको नाम रजिस्टरमा इन्ट्री छैन । त्यसका कारण उनको पहिचान खुल्न नसकेको बताउनुभयो ।
उनीहरू कसरी र किन वीरगन्ज आएका हुन् भन्नेबारेमा पनि केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।
मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्