तपाईँ सुन्दै हुनुहुन्छः

परीक्षा रद्दपछि वीरगञ्जमा विद्यार्थी प्रदर्शन, घण्टाघर क्षेत्रमा तनाव

वीरगञ्ज । वीरगञ्ज स्थित हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ को नियमित (त्रैमासिक) परीक्षा अन्तिम समयमा आएर आकस्मिक रूपमा रद्द गरिएपछि आक्रोशित विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका छन् ।

कलेज प्रशासनले आजदेखि सञ्चालन हुने भनिएको परीक्षा स्थगित गरेको सूचना जारी गरेपछि परीक्षा दिन पुगेका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले परीक्षा नियमित तथा निर्धारित समय तालिकामा सञ्चालन गर्नुपर्ने, दैनिक कक्षा र अन्य शैक्षिक गतिविधिहरू प्रभावित नहुने गरी व्यवस्थापन गर्नुपर्ने माग राख्दै कलेजको मुख्य द्वार अगाडि धर्ना दिँदै कलेज प्रशासन, क्याम्पस प्रमुख तथा सञ्चालक समितिविरुद्ध नाराबाजी गरेका थिए ।

विद्यार्थीहरूले कलेजभित्र शिक्षा विभाग, कर्मचारी, प्रशासन र सञ्चालक समितिबिचको आन्तरिक द्वन्द्व तथा विवादका कारण विद्यार्थीहरूको पठनपाठन, कक्षा सञ्चालन, परीक्षा तथा अन्य शैक्षिक क्रियाकलापहरू पटक–पटक प्रभावित हुँदै आएको बताएका छन् । प्रशासनिक विवादले आफूहरूको भविष्यमा असर नपारोस् भन्ने उनीहरूको मुख्य माग छ ।

प्रदर्शनका क्रममा आक्रोशित विद्यार्थीहरूले कलेजको मूल द्वार अगाडिबाट ¥याली निकालेर वीरगञ्जको मुख्य घण्टाघर चोकसम्म पुगेका छन् । त्यहाँ उनीहरूले चक्काजाम गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण घण्टाघर क्षेत्रको मुख्य सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।

प्रदर्शनका क्रममा केही विद्यार्थी तोडफोडमा उत्रिएपछि प्रहरीले सामान्य बल प्रयोग गरेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । 

घण्टाघर क्षेत्रमा प्रदर्शनका कारण अवरुद्ध यातायात सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।वीरगञ्जको हरि खेतान बहुमुखी क्याम्पसमा ४ हजार ७ सय विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् ।

विद्यार्थीहरूले निरन्तर रूपमा निमित्त क्याम्पस प्रमुख रवीन्द्र यादवको राजीनामा माग गरिरहेका छन् । कलेज प्रशासनले भने परीक्षा स्थगित गर्नुपर्ने कारणबारे स्पष्ट जानकारी गराएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button