गृहमन्त्री अर्यालसहित मन्त्रीहरूद्वारा नयाँ संसद् भवनको अनुगमन
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसहित विभिन्न मन्त्रीहरूले आज सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनको स्थलगत निरीक्षण एवं अनुगमन गर्नुभएको छ ।

गृहमन्त्री अर्यालसहित परराष्ट्रमन्त्री बालानन्द शर्मा, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतम र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले संसद् भवनका विभिन्न संरचना अवलोकन गरी जानकारी लिनुभएको हो । उहाँहरूले संसद् बैठक बस्नका लागि तयार गरिएको नयाँ ‘मल्टिपर्पोज हल’, निर्माणाधीन प्रतिनिधिसभा र राष्ट्रियसभा हलको अवलोकन गर्नुभएको थियो ।
अनुगमनका क्रममा गृहमन्त्री अर्यालले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथका लागि बैठक कक्षको सबै तयारी अवस्थामा रहेको जानकारी दिँदै आवश्यक परेको खण्डमा प्रतिनिधिसभाको बैठक पनि बस्न सकिने गरी व्यवस्थापन गरिएको निर्माण पक्षले जानकारी गराएको बताउनुभयो ।
भवनभित्रको सिट योजना (सिट प्लानिङ) र फर्निचर व्यवस्थापन सन्तोषजनक रहेको उल्लेख गर्दै उहाँले माइक तथा स्क्रिन जडानको काम समेत द्रुतगतिमा भइरहेको जानकारी दिनुभयो । अस्थायी व्यवस्थापन भए पनि फर्निचर र प्रविधिको प्रयोग गुणस्तरीय रहेको र कामले गति लिएको उहाँको भनाइ थियो ।
नयाँ संसद् भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । करिब १५६ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद् भवन तयार भएपछि सङ्घीय संसद्का सम्पूर्ण गतिविधि यही नयाँ संरचनाबाट सञ्चालन हुनेछन् । भवन निर्माण गरिरहेको टुण्डी–सेक जेभी परियोजनाका प्रमुख प्रमेन्द्रकृष्ण श्रेष्ठका अनुसार सङ्घीय संसद् भवन, प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन र अन्य कार्यालय लगायत १२ भवन हुनेछन् ।
रासस








प्रतिक्रिया राख्नुहोस्