तपाईँ सुन्दै हुनुहुन्छः

ह्वाट्सएप ह्याक गरेर ठगी गर्ने गिरोह सक्रिय, जोगिन प्रहरीको विशेष अनुरोध

काठमाडौँ I पछिल्लो समय नेपालमा ह्वाट्सएप (WhatsApp) प्रयोगकर्ताहरूलाई लक्षित गरी ठगी गर्ने घटनाहरू बढेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले आम नागरिकलाई सतर्क रहन विशेष अनुरोध गरेको छ।

अपराधीहरूले ह्वाट्सएप एकाउन्ट ह्याक गरी नजिकका साथीभाइ तथा आफन्तसँग आर्थिक सहयोग माग्ने नयाँ शैली अपनाएको ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार ठगहरूले “म समस्यामा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्” वा “मेरो बैंकिङ्ग एपमा समस्या आएकाले पैसा पठाउन सकिनँ, यो QR कोडमा पैसा हालिदिनुहोस्” जस्ता म्यासेजहरू पठाएर ठगी गरिरहेका छन्।

ठगीबाट जोगिन प्रहरीका सात सुझावहरू:
साइबर ब्यूरोले यस्ता शङ्कास्पद गतिविधिबाट बच्न निम्न उपायहरू अपनाउन आग्रह गरेको छ:

१. तुरुन्त विश्वास नगर्नुहोस्: आफन्त वा साथीको नामबाट पैसा माग्ने म्यासेज आउने बित्तिकै विश्वास नगर्नुहोस्।

२. प्रत्यक्ष फोन गरेर पुष्टि गर्नुहोस्: पैसा पठाउनुअघि सम्बन्धित व्यक्तिलाई फोन गरेर वास्तविकता बुझ्नुहोस्।

३. लिङ्क र कोडमा सावधानी: शङ्कास्पद लिङ्क, कोड वा फाइलहरू क्लिक वा डाउनलोड नगर्नुहोस्।

४. Two-Step Verification: आफ्नो ह्वाट्सएपमा अनिवार्य रूपमा ‘टु-स्टेप भेरिफिकेसन’ सक्रिय गर्नुहोस्।

५. OTP गोप्य राख्नुहोस्: आफ्नो मोबाइलमा आउने OTP वा भेरिफिकेसन कोड कसैलाई पनि नदिनुहोस्।

६. एप अपडेट: आफ्नो मोबाइल र एपहरूलाई नियमित रूपमा अपडेट गर्नुहोस्।

७. WhatsApp Web बाट लग आउट: कम्प्युटर वा ल्यापटपमा ह्वाट्सएप वेब प्रयोग गरिसकेपछि अनिवार्य रूपमा लग आउट गर्नुहोस्।

यदि कोही ठगीमा परेमा वा शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त साइबर ब्यूरोमा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button