रेडपाण्डा संरक्षण र पर्यटन प्रवर्द्धनका लागि सन्दकपुरमा महोत्सवको तयारी

इलाम I इलामको सन्दकपुर गाउँपालिकामा लोपोन्मुख रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रो रेडपाण्डा महोत्सव आयोजना हुने भएको छ।
आगामी चैत्र २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने यो महोत्सव यस वर्ष सन्दकपुर–४ को कालपोखरी क्षेत्रमा आयोजना गरिनेछ।
महोत्सवको मुख्य लक्ष्य स्थानीय समुदायलाई रेडपाण्डा संरक्षणप्रति सचेत गराउनुका साथै हिमाली क्षेत्रको पदमार्गमा आधारित पर्यटनलाई प्रवर्द्धन गर्नु हो। यसअघि दुई संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको रेडपाण्डा पदमार्ग महोत्सव ४३ किलोमिटर लामो पदमार्गसँग सम्बन्धित छ, जसले माईपोखरी देखि ढापपोखरी हुँदै जौबारीसम्म जोड्छ। यो पदमार्गमा विभिन्न दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र समृद्ध जैविक विविधताको अध्ययन गर्न सकिन्छ।
११ करोडभन्दा बढी लागतमा निर्माण गरिएको यस पदमार्ग क्षेत्रमा १५ भन्दा बढी पर्यटकीय गन्तव्यहरू समावेश छन्। महोत्सवमार्फत यी गन्तव्यहरूको प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। विशेषगरी छिमेकी पश्चिम बङ्गाल बाट भारतीय पर्यटक आकर्षित गर्ने योजना पनि रहेको छ।
सन्दकपुर क्षेत्र पूर्वी पहाडमा रेडपाण्डा अवलोकनका लागि प्रसिद्ध गन्तव्य हो, जहाँ विश्वभरबाट पर्यटकहरू पुग्ने गरेका छन्। महोत्सव अवधिभर आगन्तुकहरूले आदिवासी जनजातिको संस्कृति, सिमसार क्षेत्र, प्राकृतिक सौन्दर्य तथा सगरमाथा सहित ६० भन्दा बढी हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सक्नेछन्।
यस कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश पर्यटन कार्यालय झापा, केचना–कञ्चनजङ्घा पर्यटन विकास समिति तथा रेडपाण्डा नेटवर्क लगायत संस्थाहरूले प्रवर्द्धन गर्नेछन्।






प्रतिक्रिया राख्नुहोस्