प्रधानमन्त्री कार्की कर्णाली भ्रमणमा, निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की आज देशको विकट पहाडी क्षेत्र कर्णालीको भ्रमणमा रहनुभएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन फिल्डमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नेपाली नागरिकप्रति धन्यवाद व्यक्त गर्न उहाँ यस क्षेत्रमा पुग्नुभएको हो।
निर्वाचनपूर्वको निरीक्षण भ्रमणमा उहाँ कर्णाली पुग्न सक्नुभएको थिएन । प्रधानमन्त्री कार्की आज बिहान मुगु जिल्लाको रारा पुग्नुभएको थियो। त्यहाँ जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गर्नुभयो।
त्यसपछि उहाँ जुम्लाको खलङ्गा पुगेर जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गर्नुभयो। सो क्रममा उहाँले सीमित स्रोत–साधन र कठिन भूगोलका बाबजुद पनि प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै सुरक्षा निकाय र कर्मचारीहरूको प्रशंसा गर्नुभयो।

उहाँले स्थानीय बासिन्दाहरूसँग पनि भेटघाट तथा अन्तरक्रिया गर्दै निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाइएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो। प्रधानमन्त्री कार्कीले भन्नुभयो, “देशले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ, यसको श्रेय सम्पूर्ण नेपाली जनतालाई जान्छ।”
यसैक्रममा, प्रधानमन्त्री कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन पनि गर्नुभयो। विसं २०३७ सालमा स्थापना भएको उक्त संस्थालाई नेपालकै पहिलो प्राविधिक शिक्षालयमध्ये एक मानिन्छ।
विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाहरूले प्रधानमन्त्रीलाई लालीगुराँस दिएर स्वागत गरेका थिए । प्रधानमन्त्री कार्कीको यो भ्रमणको मुख्य उद्देश्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्नुका साथै छोटो कार्यकालमा सरकारलाई प्राप्त जनसमर्थनप्रति कृतज्ञता प्रकट गर्नु रहेको छ।












प्रतिक्रिया राख्नुहोस्