नेपाल–भारत सीमामा मानव बेचबिखन नियन्त्रणका लागि समन्वय बैठक सम्पन्न
बाँके । नेपाल–भारत सीमावर्ती क्षेत्रमा बढ्दो मानव बेचबिखन नियन्त्रण तथा रोकथामका लागि दुवै देशका सरोकारवालाबीच सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसै सन्दर्भमा बर्दियाको गुलरिया नगरपालिकामा इन्डो–नेपाल समन्वय बैठक सम्पन्न भएको छ।
बाँके यूनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा भएको बैठकले सीमापार मानव बेचबिखन सञ्जाललाई कमजोर बनाउने र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्ने लक्ष्य राखेको थियो।
बैठकमा मधुवन र राजापुर नगरपालिकाका उपप्रमुख, महिला तथा बालबालिका शाखा, जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय राजापुरका अधिकारीहरू, साथै मानव बेचबिखनविरुद्ध कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
भारतीय संस्था ‘दिहात’का प्रमुख सञ्चालन अधिकृत दियांशु चतुर्वेदी र मोहम्मद इमरान अन्सारीले मानव बेचबिखनको वर्तमान अवस्था, चुनौतीहरू र सीमापार समन्वयका अनुभव प्रस्तुत गर्दै साझा प्रयासको आवश्यकतामा जोड दिएका थिए।
नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष निर्मल घिमिरेले लागूऔषध दुव्र्यसन र जोखिममा रहेका व्यक्तिको सचेतनामूलक अभियानमा स्थानीय तह र सुरक्षा निकायको सक्रियता आवश्यक भएको बताउनुभयो।
बैठकले सीमापार सामाजिक सञ्जाल समन्वय समूह गठन, सूचना आदानप्रदान प्रणाली सुदृढीकरण, संयुक्त सचेतनामूलक कार्यक्रम सञ्चालन, नियमित समन्वय बैठक जारी राख्ने तथा उद्धार, पुनःस्थापना र पुनःएकीकरणमा सहकार्य बढाउने निर्णय गरेको छ।
समन्वय बैठकलाई मानव बेचबिखन नियन्त्रणका लागि नेपाल–भारतबीचको द्विपक्षीय सहकार्य सुदृढ बनाउने र सीमावर्ती समुदायको सुरक्षामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।








प्रतिक्रिया राख्नुहोस्