बाजुराबाट सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार
बाजुरा। सुत्केरीपछि जटिल स्वास्थ्य समस्या देखिएकी बडीमालिका नगरपालिका–१ की २१ वर्षीया सरता देवी रोकायालाई हेलिकप्टरमार्फत सुर्खेतमा उद्धार गरिएको छ।
मंगलबार राति सुत्केरी भएकी रोकायालाई अत्यधिक रक्तस्राव र श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त उपचार सम्भव नभएकाले चिकित्सकको सिफारिसमा तत्काल सुविधासम्पन्न अस्पताल लैजान जिल्ला प्रशासनको समन्वयमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो।
उद्धारपछि रोकायालाई कर्णाली प्रदेश अस्पतालमा भर्ना गरी आईसीयूमा उपचार भइरहेको छ। दुर्गम भौगोलिक अवस्थाका कारण बाजुरामा समयमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन चुनौतीपूर्ण भए पनि ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गतको निःशुल्क हवाई उद्धार सेवा प्रभावकारी सावित भइरहेको छ।








प्रतिक्रिया राख्नुहोस्