तपाईँ सुन्दै हुनुहुन्छः

ग्रेटर लुम्बिनी परियोजनालाई ८५ मिलियन डलर ऋण सहयोग गर्ने विश्व बैङ्कको निर्णय

रुपन्देही । यस क्षेत्रकै गौरवको आयोजनाका रूपमा रहेको ‘ग्रेटर लुम्बिनी’ परियोजनाले अब ठोस गति लिने भएको छ । विश्व बैंकले ८५ मिलियन अमेरिकी डलर (करिब साढे १२ अर्ब रुपैयाँ) बराबरको ऋण सहयोग गर्ने निर्णय गरेसँगै परियोजना कार्यान्वयनको प्रक्रिया अघि बढ्ने भएको हो ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

गत मार्च १३ मा विश्व बैङ्कको बोर्ड बैठकले उक्त रकम बराबरको ऋण स्वीकृत गरी अर्थ मन्त्रालयमा पठाइसकेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिनुभयो । यसअघि पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको समन्वयमा परियोजना अघि बढाइएको थियो ।

बुद्ध जन्मस्थललाई केन्द्रमा राखेर कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लालाई समेट्ने गरी प्रस्ताव गरिएको ‘ग्रेटर लुम्बिनी’ परियोजनाका लागि नेपाल सरकारले विश्व बैङ्कसमक्ष औपचारिक प्रस्ताव पठाएपछि ऋण स्वीकृत भएको हो ।

अब मन्त्रिपरिषद्बाट ऋण स्वीकृत भएपछि नेपाल सरकार र विश्व बैङ्कबिच औपचारिक सम्झौता भई परियोजना कार्यान्वयन चरणमा प्रवेश गर्नेछ । वरिष्ठ निर्देशक राईका अनुसार सम्झौतापछि सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा परियोजना अघि बढाइनेछ ।

परियोजनामा देवदह, तिलौराकोट, रामग्राम र लुम्बिनी सांस्कृतिक नगरपालिकासहितका बौद्ध सम्पदासँग सम्बन्धित क्षेत्र समेटिनेछन् । साथै पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डको सहभागिता रहने जनाइएको छ ।

परियोजना अन्तर्गत सडक, नाली, बसपार्क, विद्युतीकरण, ध्यान केन्द्र, विश्रामस्थल, क्याफे, सूचना केन्द्र तथा स्थानीय उत्पादनका बिक्री केन्द्रजस्ता पूर्वाधार निर्माण गरिनेछ । यसले बौद्ध तीर्थयात्रीहरूलाई सहजता प्रदान गर्नुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

लुम्बिनी क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत स्थल हो । यहाँ रहेको मायादेवी मन्दिर, पवित्र पुष्करिणी पोखरी र अशोक स्तम्भ ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छन् । गौतम बुद्धको मावली स्थल देवदह, प्राचीन शाक्य राज्यको राजधानी तथा बुद्धका अवशेष सुरक्षित रहेको मानिने रामग्राम स्तूप यस क्षेत्रका प्रमुख धार्मिक सम्पदा हुन् ।

परियोजनाको मुख्य उद्देश्य लुम्बिनीलाई आध्यात्मिक, सांस्कृतिक तथा अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा विकास गर्नु हो । यसमार्फत पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना, सम्पदा संरक्षण र दिगो सहरी विकासलाई एकीकृत रूपमा अघि बढाइने लक्ष्य लिइएको छ ।

पूर्व अर्थमन्त्री पौडेलले बहुक्षेत्रीय सहकार्य र अन्तर्राष्ट्रिय साझेदारीमार्फत लुम्बिनीलाई विश्व शान्ति र दिगो पर्यटनको नमुना केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button