देशलाई केन्द्रमा राखेर काम गर्न नवनिर्वाचित सांसदहरूलाई सभापति लामिछानेको आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले देशलाई प्रमुख केन्द्रमा राखेर जिम्मेवार भई काम गर्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई आग्रह गर्नुभएको छ ।

रास्वपाबाट निर्वाचित सांसदहरूलागि ललितपुरमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले आफूहरूले गलत कदम उठाए जनताले कति समय पनि नकुर्ने भन्दै सांसदहरूलाई बढी अध्ययनशील र जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्नुभयो ।
सभापति लामिछानेले जनताले पार्टीमाथि देखाएको भरोसा र आशालाई मुलुकमै रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायमार्फत विश्वासमा परिणत गर्नू अबको सरकारको कार्यभार रहेको स्पष्ट पार्नुभयो ।
नयाँ सरकार बन्दा मुलुकमा लोकतन्त्र खतरामा पर्छ, अधिनायकवाद आउँछ जस्ता आशङ्काहरू व्यक्त गरिएकोप्रति सभापति लामिछानेले जनताले दिएको मतलाई सम्मान र सावधानीपूर्वक काम मार्फत नै सुशासनमा नयाँ मानक स्थापना गर्ने पनि बताउनुभयो ।
त्यस अवसरमा रास्वपाभित्र सिङ्गो देशको अनुहार झल्कने उल्लेख गर्नुहुँदै पार्टीमा राई–लिम्बू समुदायबाट सांसद बनाउन नसकेकोमा भने सभापति लामिछानेले क्षमा माग्नुभयो ।
रास्वपाले पार्टीबाट निर्वाचित सांसदहरूका लागि हिजो र आज गरी दुई दिन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्