तिलकको आग्रह– मृगौला फेर्न सहयोग गरिदिनुस् !
दोलखा । दुवै मृगौला फेल भई उपचार गराई रहेका दोलखा फुलपाका युवा तिलक थामी थप उपचारको लागि सहयोगी हातको खोजीमा रहेका छन् । ६ जना परिवारको एक मात्र सहारा तिलक मृगौला फेल भई थला परेपछि सिङ्गो परिवार नै सङ्कटमा परेको छ ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– २ फुलपाका तिलक थामी दुवै मृगौला फेल भई लामो समयदेखि डायलसीस प्रविधि मार्फत उपचार गराउँदै आएका छन् । ३६ वर्षका तिलक मृगौला प्रत्यारोपण मार्फत स्वस्थ भई परिवारको लागि काम गर्न चाहेको तर आर्थिक अभावले त्यो सम्भव नभएको बताउँछन् ।
दुवै मृगौला फेल भई पीडा भोग्नुपर्दा यो धर्तीबाट छिट्टै बिदा हुने मन बन्छ, तिलकले भने– तर घर– परिवारको दुःखले आफु स्वस्थ भई सहयोग गर्नुपर्ने दायित्व सम्झिएर बाँच्नै पर्ने आवश्यकता छ ।

उनले रोगको पीडामा मलहम लगाउने सबै आफन्त, इष्टमित्र र सहयोगी मनहरूलाई धन्यवाद दिँदै मृगौला प्रत्यारोपणको लागि थप सहयोगको आग्रह गरेका छन् । तिलकको परिवारमा श्रीमती, एक छोरी, आमा– बुबा र भाइ समेत ६ जना भएको र उनीहरू सबै तिलकसँगै आश्रित रहेको फुलपाका स्थानीय सामाजिक अभियन्ता बद्री दहालले बताए ।
शिक्षण अस्पताल काठमाडौँमा उपचार गराउँदै आएका तिलक अहिले भाँडाको कोठामा बसेर नियमित डायलसीसको लागि अस्पताल पुग्ने गरेका छन् । आर्थिक अवस्था कमजोर रहेको र भएको थोरै सम्पत्ति समेत उपचारमै सकिएकोले उनलाई सहयोगी हातहरूको आवश्यकता रहेको दहाल बताउँछन् ।
तिलकलाई केही सहयोग प्राप्त हुँदै आएको तर नियमित उपचार र मृगौला प्रत्यारोपणको लागि थप रकम आवश्यक भएकोले देश– विदेशमा रहेका सहयोगी मनहरूलाई आग्रह गरिएको दहालको भनाई छ । तिलकलाई सहयोग गर्न चाहनेले उनको श्रीमती रिनु थामी (RENU THAMI) को नाममा माछापुच्छ्रे बैङ्कमा रहेको ०४४०९८८९९९८०००१५ नम्बरको खातामा रकम हालिदिन सक्ने वा उनको मोबाइल नम्बर ९८६६८८०१३३ मा सम्पर्क गरी सहयोग गर्न सक्ने अभियन्ता बद्री दहाल बताउँछन् ।







प्रतिक्रिया राख्नुहोस्