बारामा मोटरसाइकल दुर्घटना: १ को मृत्यु, २ घाइते
वीरगञ्ज। बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर –५ स्थित सडक खण्डमा गए राती दुई भारतीय नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकलले बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करमा सिम्रौनगढ नगरपालिका–५ का ४५ वर्षीय सुरेन्द्र महतो गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकलका चालक र सोही मोटरसाइकलमा सवार अन्य एक जना गरी २ जना घाइते भएका छन् ।
घाइतेमध्ये चालकको कलैयामा र अर्का घाइतेको वीरगन्जमा उपचार भई रहेको छ । प्रहरीले बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जनाएको छ र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्