एक्सरे मेसिन नबन्दा डडेल्धुरा अस्पतालमा सेवा प्रभावित
डडेल्धुरा । संघीय सरकार मातहतमा सञ्चालनमा रहेको डडेल्धुरा अस्पतालमा ९ महिनादेखि बिग्रेको एक्सरे मेसिन अझै बन्न सकेको छैन । अस्पतालमा सानो र ठुलो गरि दुईवटा एक्सरे मेसिन छन्,ती मध्ये सानो एक्सरे मेसिन सञ्चालनमा रहेपनि ठुलो एक्सरे मेसिन गत साउन देखि सञ्चालन हुन नसकेको अस्पतालले जनाएको छ ।

डडेल्धुरा अस्पतालका प्रमुख मेसु डा. सुधा देवकोटाले “एक्सरे मेसिन खरिद प्रक्रियामा थुप्रै चुनौती रहेको” बताउनु भयो , उहाँले भन्नु भयो “एकातिर अस्पतालमा बायो मेडिकल इन्जिनियर नहुँदा समस्या रहेको छ भने अर्कातिर संघीय सरकारले समयमै खरिदका लागि बजेट विनियोजन नगर्दा सोझै खरिद गर्न नसकिने” अवस्था छ । देवकोटाले सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकारका मातहतमा एक्सरे मेसिन बिग्रेको बारे जानकारी गराइएको भएपनि निकास ननिस्केको बताउनु भयो ।
अहिले सामान्य प्रकारको एक्सरे सेवा अस्पतालबाट प्रदान भइरहेकोमा ढाड, कम्मर ,घाँटी लगायत जटिल खालका समस्याहरूका लागि भने तराईका जिल्ला धाउनु पर्ने बाध्यता छ । बझाङको बुँगलबाट डडेल्धुरा अस्पताल आएका हर्क बहादुर धामीले डडेलधुरामै उपचार होला भनेर आएकोमा धनगढी जानुपर्ने बाध्यता भएको प्रतिक्रिया दिनुभयो ।
सुदूरपश्चिमका पहाडी जिल्लामा घाँस दाउरा गर्दा भिरबाट खस्ने ढाड, तथा कम्मरको समस्या हुने गरेका थुप्रै बिरामीहरूका लागि महँगोमा उपचार गर्न निजी अस्पताल धाउनु पर्ने बाध्यता छ ।






प्रतिक्रिया राख्नुहोस्