हावाहुरीले मकै बालीमा क्षति
रौतहट। सोमबार राति आएको हावाहुरीका कारण रौतहटको उत्तरी भेगका किसानको मकै बालीमा ठुलो क्षति पुगेको छ।

हावाहुरीका कारण जिल्लाको चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुर नगरपालिकाका किसानले लगाएको मकै बालीमा व्यापक नोक्सानी भएको हो ।
हावाहुरीका कारण मकैमा घोगा लाग्ने महत्त्वपूर्ण समयमा बाली ढलेपछि उत्पादनमा गम्भीर असर पर्ने देखिएको वृन्दावन नगरपालिका–१ का वडा अध्यक्ष रामनाथ सहनीले जानकारी दिनुभयो । उहाँका अनुसार वृन्दावन नगरपालिका क्षेत्रमा लगाइएको करिब ६०० बिघा मकैमध्ये झन्डै २०० बिघा क्षेत्रमा हावाहुरीका कारण बालीमा क्षति पुगेको जनाइएको छ ।
वृन्दावन–१ का किसान शम्भु राउतले धेरै मेहनत गरेर हुर्काएको मकै घोगा लाग्ने बेलामै ढल्दा उत्पादनमा कमी आउने बताउनुभयो । “अब मकै खेती गर्नै मुस्किल जस्तो भयो,” उहाँले भन्नुभयो, “हरेक वर्ष प्राकृतिक विपत्तिका कारण क्षति भोग्नुपर्छ, तर किसानलाई कुनै निकायबाट सहयोग पाइँदैन ।”
यसै गरी, चन्द्रपुर नगरपालिका–१० का किसान दिपेन्द्र चौधरीले मकै बालीमा भएको क्षतिको विवरण सङ्कलन गर्न समेत सम्बन्धित निकाय नआएको गुनासो गर्नुभयो । उहाँले स्थानीय तहबाट आवश्यक ध्यान नदिएको बताउनुभयो ।
गुजरा नगरपालिकाका स्थानीय आत्माराम साहले मकै बाली ढलेपछि आफू निकै चिन्तित बनेको बताउनुभयो । हावाहुरीका कारण किसानको विभिन्न बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सरोज मण्डलले हालसम्म क्षतिको पूर्ण विवरण सङ्कलन हुन बाँकी रहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्