अर्थमन्त्री र बैङ्क तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र बैङ्क तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरूबीच भेटघाट तथा छलफल भएको छ ।
अर्थ मन्त्रालयमा आज भएको भेटघाटमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल, नेपाल बिमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल तथा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको सहभागिता रहेको थियो ।
भेटघाटका क्रममा अर्थमन्त्री खनालले आफू अर्थमन्त्रीका रूपमा कार्यरत रहँदा समष्टिगत आर्थिक स्थायित्व, लगानीका लागि उपयुक्त वातावरण निर्माण, पुँजी बजारलाई पारदर्शी तथा लगानीमैत्री बनाउन र आर्थिक सुशासन कायम गराउन नियामक निकायहरूले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुभएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
त्यस अवसरमा नियामक निकायका प्रमुखहरूले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको भन्दै नेपालको बैङ्क तथा वित्तीय क्षेत्रको सुदृढीकरण, वित्तीय अनुशासन कायम गर्न तथा समग्र आर्थिक प्रणालीलाई व्यवस्थित बनाउन अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति तथा मार्गनिर्देशनप्रति आभार व्यक्त गर्नुभएको थियो ।
भेटघाटका क्रममा बैङ्क तथा वित्तीय क्षेत्रको स्थायित्व, लगानी अभिवृद्धि, वित्तीय प्रणालीको पारदर्शिता तथा पुँजी बजारको विकासका विषयमा समेत विचार आदान–प्रदान भएको जनाइएको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्