तपाईँ सुन्दै हुनुहुन्छः

पुलिस र सातदोबाटो बीचको खेल बराबरीमा सम्पन्न

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा एन्फा राष्ट्रिय लिगमा सातदोबाटोको जितविहीन यात्राले निरन्तरता पाएको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको खेलमा पुलिसले सातदोबाटोसँग २–२ को रोमाञ्चक बराबरी खेल्यो । सातदोबाटोले अरुण लामा र फोडे फोफानाको गोलमार्फत पहिलो हाफमा अग्रता लिएको थियो । त्यसपछि दोस्रो हाफको मध्यतिर सम्म पनि सातदोबाटो दुई गोलकै अग्रतामा थियो । 

खेलको ७५औँ मिनेटमा धिरेन्द्र बहादुर शाहले गोल गरे । त्यसपछि निर्धारित समयसम्म खेलमा फर्किने कोशिस गरे पनि सकेन । त्यसपछि थप गरिएको इन्जुरी समयको नवौं मिनेटमा सुवास थारुले गोल गरेपछि सातदोबाटो स्तब्ध बन्यो ।

बराबरीसँगै ११ खेलमा ९ अंक जोड्दै पुलिसले एक स्थान सुधार गर्‍यो । अहिले पुलिस पुछारबाट पाँचौँ स्थानमा छ । सातदोबाटोको पनि समान खेलमा ९ अंक नै छ । एक स्थान माथि उक्लिएको सातदोबाटो पुछारबाट चौथो स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button