तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भरतपुर टिम प्रथम

चितवन । १९ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भरतपुर महानगरपालिका टिम प्रथम भएको छ ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका ८ बाघमारा दुई दिन चलेको प्रतियोगितामा १७ स्वर्ण पदक हात पार्दै भरतपुर टिम प्रथम भएको हो । यस्तै भरतपुरले १६ रजत र २१ कांस्य पदक जितेको छ ।

१४ स्वर्ण जितेको माडी नगरपालिका दोस्रो भएको छ । माडीले १४ स्वर्णसहित ५ रजत र ६ कांस्य जितेको छ । रत्ननगर १० स्वर्णसहित तेस्रो भएको छ । उसले १० स्वर्ण, ११ रजत र ३० कांस्य पदक हात पारेको छ ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव दीपक लामा, चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्की, ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी सुवास भट्ट लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

त्यस क्रममा सदस्य सचिव लामाले चितवनलाई खेलकुद नगरीको रुपमा अघि बढाउन सकिने बताउनुभयो  । यसका लागि परिषद्ले योजना बनाइरहेको पनि उहाँको भनाइ थियो । 

समितिका अध्यक्ष कार्कीले सहभागी चारै पालिकालाई धन्यवाद दिए । यस्तै सहभागी नभएका तथा छनौट प्रतियोगिता नै नगरेका राप्ती र कालिका नगरपालिका तथा ईच्छाकामना गाउँपालिकालाई खेलाडीको भविष्यमाथि खेलवाड नगर्न आग्रह गर्नुभयो । खेलाडीलाई खेल्नबाट नै बञ्चित गर्न नहुने उहाँको भनाइ थियो । 

प्रतियोगितामा भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी र माडी नगरपालिकाका करिब ५ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button