विभिन्न कार्यक्रमसहित विश्व उपभोक्ता अधिकार दिवस सम्पन्न
स्याङ्जा । विश्व उपभोक्ता अधिकार दिवस स्याङ्जामा विभिन्न कार्यक्रम सहित मनाइएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आँधी खोला गाउँपालिका स्थित प्रद्युम्न पनेरु माध्यमिक विद्यालयमा सचेतना मूलक कार्यक्रम गरिएको हो ।

पञ्चेबाजा र सचेतना मूलक प्लेकार्ड सहित प्रभातफेरी पछि आयोजित कार्यक्रममा उपभोक्ता, व्यापारी, विद्यार्थी तथा सरोकारवालाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै आँधी खोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले उपभोक्ताले आफ्नो अधिकारबारे सचेत हुनुपर्ने र व्यापारीले इमान्दारीपूर्वक उपभोक्ताको हितमा व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले उपभोक्ताको अधिकार संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिइएको बताउँदै कालोबजारी, कृत्रिम अभाव र गुणस्तर हीन वस्तुको बिक्री वितरण गर्नेहरू माथि कानुन अनुसार कारबाही गरिने जानकारी दिनुभयो ।
जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेले उपभोक्तालाई असर पर्ने गतिविधि देखिएमा सम्बन्धित निकायमा उजुरी दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले उपभोक्ताले आफूले प्रयोग गर्ने वस्तुको गुणस्तर र मूल्यबारे सजग हुनुपर्ने बताउनुभयो ।
एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले उपभोक्ता अधिकार सुनिश्चित गर्न सबै सरोकारवालाबिच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
हरेक वर्ष मार्च १५ का दिन विश्वभर विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै आइएको छ ।







प्रतिक्रिया राख्नुहोस्