तपाईँ सुन्दै हुनुहुन्छः

समानुपातिक सांसदको नाम टुङ्ग्याउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनपछि आज पहिलो पटक नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ ।

पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपा ललितपुरमा बसिरहेको बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्ने जनाएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक खराब मौसमका कारण एक घण्टा ढिला गरी सुरु भएको हो । यसअघिको निर्वाचनको पहिलो दल काँग्रेसले अहिलेको निर्वाचनमा आधाभन्दा कम सिट जितेको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको काँग्रेसले समानुपातिकमा २० सिट जितेको छ । 

आजको बैठकमा अन्य विषयमा सामान्य छलफल हुन सक्ने भए पनि मुख्य विषय भने निर्वाचन आयोगलाई सिफारिस गर्ने समानुपातिक सदस्यको नाम टुङ्गो लगाइने पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

कांग्रेसका सामु अब हुने पार्टीको नियमित महाधिवेशन र अबको मार्गका बारेमा समेत बैठक गरी टुङ्गोमा पुग्नुपर्नेछ । प्रवक्ता चालिसेले पार्टीको केन्द्रीय समिति बैठकको तयारी भइरहेको र यसै साता बस्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button