युवा विदेशिएपछि बाजुराका गाउँ सुनसान, अधिकांश घरमा ताला
बाजुरा।रोजगारीको खोजीमा ठूलो संख्यामा युवाहरू विदेशिन थालेपछि बाजुराका धेरै गाउँ अहिले रित्तिँदै गएका छन्। जीविकोपार्जनका लागि परिवारसहित भारतका विभिन्न सहरतर्फ गएका कारण धेरै घरमा ताला लागेको अवस्था देखिएको छ।
जिल्लाका धेरै गाउँमा अहिले वृद्ध–वृद्धा, महिला र बालबालिका मात्र बसोबास गर्दै आएका छन्। युवाहरू रोजगारीका लागि भारत र खाडी मुलुकतर्फ गएकाले गाउँमा काम गर्ने जनशक्तिको अभाव भएको स्थानीयको भनाइ छ। कतिपय गाउँमा त युवाहरू भेट्नै मुस्किल भइसकेको बताइन्छ।
बाजुराको बडिमालिका नगरपालिका–५ मना गाउँमा करिब दुई सय परिवार बसोबास गर्छन्। तीमध्ये प्रायः प्रत्येक घरबाट कम्तीमा एक जना भारत वा अन्य विदेशमा रोजगारीका लागि गएको स्थानीयले बताएका छन्। धेरै परिवार त पुरै परिवारसहित भारतका सहरमा बसाइँ सरेका छन्।
स्थानीय कृष्ण चदाराका अनुसार अहिले गाउँमा मलामी जानसमेत युवा अभाव हुन थालेको छ। “गाउँमा वृद्ध–वृद्धा, महिला र साना बालबालिका मात्र छन्, युवाहरू सबै रोजगारीका लागि बाहिर गएका छन्,” उनले भने।
बाजुराका विभिन्न गाउँबाट भारतका मुम्बई, दिल्ली, बेङ्गलोर र गढवाल लगायतका सहरमा काम गर्न जानेको संख्या बढ्दै गएको छ। पछिल्लो समय युवाहरू खाडी मुलुकतर्फ पनि आकर्षित हुन थालेका छन्। गाउँमै रोजगारीका अवसर नहुँदा स्थानीय बाध्य भएर विदेशिनुपरेको उनीहरूको भनाइ छ।
स्थानीयका अनुसार संघ, प्रदेश र स्थानीय तहका सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्न नसके आगामी दिनमा अवस्था अझ जटिल बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्