गोरखामा माइक्रो दुर्घटना, मृतक र घाइतेको पहिचान खुल्यो
गोरखा । जिल्लाको शहिदलखन गाउँपालिका–३ कान्टारस्थित महिपते खोलामा शुक्रबार साँझ भएको इभी माइक्रो दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरूको पहिचान खुलेको छ।
दुर्घटनामा भारतको तमिलनाडुका ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीया मिनाक्षी, ५३ वर्षीया सिवगामी, ५७ वर्षीया बिजायल, ५८ वर्षीया मिना र ६० वर्षीया तमिलारशी रहेका छन्। उनीहरू सबै भारतीय नागरिक हुन्।
मृतकहरूको शव परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा राखिएको छ। बा.प्र १–००६ ख ८४३० नम्बरको इभी माइक्रो गाडी दुर्घटनामा परेको थियो। मनकामना मन्दिर दर्शन गरेर आबुखैरेनीतर्फ फर्किंदै गरेको उक्त गाडी शहिदलखन गाउँपालिका–३ कान्टारस्थित कच्ची सडकबाट करिब २०० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चालक र सहचालक बाहेक गाडीमा सवार अन्य सबै यात्रु भारतीय नागरिक थिए।दुर्घटनामा अन्य ९ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक उपचारपछि चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ।
घाइते हुनेमा लमजुङ सुन्दरबजार नगरपालिका–१ का ४६ वर्षीय चालक पुष्प मल्ल ठकुरी रहेका छन्। उनको बाहिरी चोट नदेखिए पनि भित्री चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।लमजुङ बेँसीशहर नगरपालिका–३ का २९ वर्षीय सहचालक सन्तोष गुरुङको टाउको र अनुहारमा चोट लागेको छ।
त्यसैगरी तमिलनाडु घर भएका भारतीय नागरिक ६२ वर्षीया सोरनम, ६५ वर्षीय मंगदा जलम, ७५ वर्षीया सुभाद्रा, ६५ वर्षीया मयाल, ७३ वर्षीया सरोजा, ६५ वर्षीया भाग्यलक्ष्मी र ३४ वर्षीया मिनाक्षी घाइते भएका छन्।
गम्भीर अवस्थामा रहेका उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्