नेपालभाषा र संस्कृतिको प्रवद्र्धनमा योगदान पुर्याउने लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’वाट सम्मानित

विराटनगर । नेपालभाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय भूमिका खेल्दै आउनुभएका मध्यपुर ठिमीस्थि तदबुली नेपालका संरक्षक गणेशराम लाछि यस वर्षको ‘सुदर्शन–कपिला सिरपा’बाट सम्मानित हुनुभएको छ ।
नेपालभाषा तथा सांस्कृतिक संघ ‘झीपुचः’ विराटनगरले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा लाछिलाई दुई लाख रुपैयाँ राशिसहित उक्त सम्मान प्रदान गरिएको हो ।
समाजसेवी सुदर्शनबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी कपिला श्रेष्ठको नाममा स्थापना गरिएको ‘सुदर्शन–कपिलाट्रष्ट’मार्फत प्रदान गरिने यो सम्मान नेपालभाषा, कला र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ ।
कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले दोसल्ला ओढाएर नगद दुई लाख रुपैयाँ र सम्मानपत्र प्रदान गर्दै नेपाल भाषा तथा कला क्षेत्रमा लाछिको योगदानको प्रशंसा गर्नुभयो ।
मन्त्री पराजुलीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता बोकेको देश भएको उल्लेख गर्दै विभिन्न जातजातिको भाषा, संस्कृति, कला र परम्पराले नेपालको पहिचानलाई समृद्ध बनाएको बताउनुभयो ।
“नेपाल सांस्कृतिक दृष्टिले विश्वमै समृद्ध मुलुक हो”, उहाँले भन्नुभयो , “यस्ता मौलिक भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सरकारी तथा सामाजिक संस्थाहरूले अझ सक्रिय भूमिका खेल्न आवश्यक छ ।”
झीपुचःका अध्यक्ष शरद श्रेष्ठले गणेशराम लाछिले नेपालभाषा, नेवारी कला तथा सांस्कृतिक परम्पराको संरक्षणमा दीर्घकालदेखि निरन्तर योगदान दिँदै आएकाले उहाँलाई सम्मान गरिएको जानकारी दिनुभयो ।
‘सुदर्शन–कपिला सिरपा’ सम्मान हरेक दुई वर्षमा एकपटक प्रदान गरिने व्यवस्था रहेको छ। ट्रष्टमार्फत प्रदान गरिने यो सम्मानले भाषा, कला, संस्कृति र सांस्कृतिक अभियानमा सक्रिय व्यक्तित्वलाई प्रोत्साहन पु¥याउने अपेक्षा गरिएको छ।
यसअघि उक्त सम्मान वरिष्ठ संस्कृतिविद् सत्यमोहनजोशी, भारतको सिक्किमस्थित नेवार गुठी तथा पोखरास्थित नेवा खल कास्कीलाई प्रदान गरिएको थियो।
कार्यक्रममा दबुली नेपालका अध्यक्ष सन्तोष प्रजापति, संस्कृतिविद् सूर्यनारायण प्रधान, झीपुचःका संरक्षक राजन श्रेष्ठ, संस्थाका पूर्व अध्यक्ष हरिबहादुर श्रेष्ठ , भविस कुमार श्रेष्ठ, सुदर्शन–कपिलाट्रष्टका प्रवक्ता समेत रहेका झीपुचःका वरिष्ठ उपाध्यक्ष सुरेशलाल श्रेष्ठलगायतले नेपालको मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षणका लागि संघीय, प्रदेश र स्थानीयतहका सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लेखक दिनेश श्रेष्ठसहितको सम्पादनमातयार गरिएको स्मारिकाको विमोचनसमेत गरिएको थियो। उक्त स्मारिकामा नेपालभाषा, नेवारी संस्कृति, कला र परम्परा सम्बन्धी विभिन्न अनुसन्धानात्मक तथा सिर्जनात्मक सामग्री समेटिएको आयोजकले जनाएको छ ।
नेपाल भाषा तथा सांस्कृतिक संघ झीपुचः विराटनगरले विगतदेखि नै नेवारी भाषा, कला, संस्कृति तथा परम्परागत सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सङ्घले सांस्कृतिक सम्मान, साहित्यिक गोष्ठी, सांस्कृतिक प्रस्तुति तथा स्मारिका प्रकाशन जस्ता गतिविधिमार्फत नेपाल भाषा र नेवारी संस्कृतिलाई राष्ट्रियस्तरमा परिचित गराउने प्रयास गर्दै आएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्